काठमाण्डौ । बिहीबार बिहानै यी व्यक्ति विश्वकै सर्वाधिक धनी बन्न सफल भए । केही घण्टाको फरकमा यिनको सम्पत्ति यति तीव्र गतिमा बढ्यो कि उनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई समेत उछिन्दै सर्वाधिक धनी बन्ने सफलता प्राप्त गरे । तर, उनको यो खुशी धेरै समय टिक्न सकेन, अनि २४ घण्टाभित्र उनले हेर्दा हेर्दै ६४ हजार करोड रुपैयाँ बराबरको सम्पत्ति गुमाउन पुुगे । 

हामी विश्वको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको कुरा गरिरहेका छौ । खासमा बिहीबार अमेजनले केही नयाँ घोषणा गर्न लागेको हल्लाले बजार तातेको थियो र राम्रो हुने आशाले अमेरिकी स्टक एक्सचेञ्ज नेस्डेकमा कम्पनीको सेयरमा लगभग ३ प्रतिशतको वृद्धि भई प्रतिकित्ता मूल्य १०८२ डलर पुुगेको थियो । यहीकारण बिजोसको कुल सम्पत्ति ९२ अर्ब डलरको उचाईमा पुुगेको थियो ।

यसका साथै बेजोस विश्वकै धनी व्यक्ति बन्न पुुगे । उनले ९०.७ अर्ब डलर सम्पत्ति रहेका बिल गेट्सलाई केही घण्टाका लागि उछिनिदिए । तर, यो जित धेरै समय टिकेन । अमेजनबाट आशा गरेर बसेका लगानीकर्ताहरुलाई उसको रिजल्टले उत्साहित बनाउन सकेन र फेरि अमेजनको सेयरमा तीव्र गतिको गिरावट देखियो । जसका कारण उनको सम्पत्ति घटेर ८९ अर्ब डलरमा झर्यो । शुक्रबार समेत कम्पनीको परिसूचक अझ तल झर्यो र उनको सम्पत्ति अझ घट्यो । मात्र २ दिनको अवधिमा उनको सम्पत्ति ६ अर्ब डलर(करिब ६४ हजार करोड रुपैयाँ) स्वाहा भयो । ब्लुमबर्गका अनुसार अहिले बेजोसको कुल सम्पत्तिमा केही सुधार भई ८७ अर्ब २ लाख डलर रहेको छ । 

एकवर्ष २५ अर्ब डलरको बढोत्तरी
तर वास्तविकतामा २ दिनको गिरावटे बेजोसलाई ठूलो असर भने गर्ने छैन । गत एकवर्षको अवधिमा उनले आफ्नो सम्पत्तिमा २५ अर्ब डलरको बढोत्तरी गर्ने सफलता पाएका छन् । उनी अझै पनि विश्वको दोश्रो धनी व्यक्ति हुन् । उनीभन्दा ठीक पछाडि अर्थात तेश्रो धनी व्यक्तिको रुपमा स्पेनका रिटेल टाइकुन अमेन्सियो आर्टिगा रहेका छन् । विज्ञहरुका अनुसार बेजोस दीर्घकालीन रणनीतिका साथ काम गर्छन्, यहीकारण उनी पुनः विश्वकै सर्वाधिक धनी बन्ने दिन धेरै टाढा छैन । 

२० वर्षदेखि धनीको सूचिमा
बेजोस करिब २० वर्षअघिदेखि विश्वका सर्वाधिक धनीको सूचिमा सामेल भएका थिए । उनले अमेजनको आइपीओ आएपछि १.६ अर्ब डलर नेटवर्थका साथमा पहिलोपटक सन् १९९८ मा फोब्र्स पत्रिकाको अर्बपतिको सूचिमा स्थान बनाएका थिए । यसपछिको एकदशकसम्म उनको सम्पत्तिमा सुुस्तरी बढोत्तरी भयो र सन् २००७ मा उनको सम्पत्ति ४.४ अर्ब डलर भयो । 

सन् २०१२ मा १८.४ अर्ब डलरको सम्पत्तिको साथमा विश्वका अर्बपतिहरुको सूचिमा उनी २६ औं स्थानमा पर्न सफल भए । 

५ वर्षमा ६५ अर्ब डलरको वृद्धि
मात्र ५ वर्षको अवधिमा उनको भाग्य चम्कियो । यो क्रममा उनको सम्पत्ति ६५ अर्ब डलरले वृद्धि भयो । योसँगै उनी विश्वकै दोश्रो सर्वाधिक धनी व्यक्ति बन्न सफल भए । उनी एक्लै मात्र त्यस्ता पात्र हुन्, जसले विगत केही महिनादेखि विश्वका सर्वाधिक धनी बिल गेट्सलाई टक्कर दिइरहेका छन् ।