नयाँदिल्ली । तपाइँ जागिरे हुनुहुन्छ र आफ्नो मासिक तलबको व्यग्र प्रतीक्षामा हुनुहुन्छ अनि तलब आउना साथ कहाँ खर्च भन्ने थाहै हुँदैन ? यो तपाइँको मात्र होइन सबै जागिरदारको एउटै समस्या हो । यदि तपाइँलाई कसैले तपाइँको तलब कसरी खर्च गर्नुहुन्छ भनेर सोधिहाले तपाइँको कुनै उत्तर हुँदैन । 
कोठा भाडा या भनौ होम लोनको मासिक किस्ता, यातायात खर्च, छोराछोरीको पढाइ खर्च, राशनलगायतका सामग्रीमा खर्च यस्तै–यस्तैमा तपाइँको तलब सकिन्छ । यही गन्जागोलमा हामी केमा कति खर्च गर्ने र के गर्दा बचत गर्न सकिन्छ भन्ने सोच्न पनि सक्दैनौँ । 
त्यसैले आमजागिरे मान्छेले आफ्नो तलबको केही हिस्सा बचाउन ५०/३०/२० को नियम आफ्नो जीवनमा कार्यान्वयनमा ल्याउन जरुरी छ । 

के हो त ५०/३०/२० को नियम ?
अमेरिकी सिनेट र टाइम म्यागजिनसँग सामेल १०० जना प्रभावशाली व्यक्तित्वमध्ये एलिजाबेथ वारेनले आफ्नी छोरीसँग मिलेर घरखर्च र बचतको यो नियम बनाएका हुन् । वारेनले आफ्नो मासिक तलब तीन हिस्सा आवश्यकता, चाहना र बचतमा विभाजन गरे । 

वारेनका अनुसार आफ्नो तलबको ५० प्रतिशत हिस्सा आफ्नो अति आवश्यक चिजमा खर्च गर्नुपर्छ, जे विना जीवनको गुजारा चल्न सक्दैन । जस्तै राशनका सामान, कोठा भाडा वा होम लोनको मासिक किस्ता, बिजुली, पानी र टेलिफोनको बिल, छोराछोरीको पढाइ, बिमा आदि । त्यस्तै ३० प्रतिशत आफ्नो चाहनाअनुसार खर्च गर्नुपर्छ । यो यस्तो खर्च हो जसलाई तपाइँ आफ्नो खुसीका लागि खर्च गर्न सक्नुहुन्छ वा पछि गरौँला भनेर यो रकम बचत पनि गर्न सक्नुहुन्छ । जस्तै फिल्म हेर्न हल जाने, पार्लरमा जाने, सपिङ जाने, बाहिर गएर खाना खाने आदि । 

आवश्यकता र चाहनापछि रहने २० प्रतिशत तलबको हिस्सा तपाइँले बचत गर्न अति जरुरी छ । किनकि यो २० प्रतिशत बचत तपाइँले अतिआवश्यक समय र रिटायर्ड जीवनमा उपभोग गर्न सक्नुहुन्छ । जसले तपाइँको जीवन सरल र सहज हुनेछ ।