काठमाण्डौ । हिरो मोटोकर्पका चेयरमेन, एमडी तथा सीइओ पवन मुञ्जाललाई आर्थिक वर्ष २०१६-०१७ मा ५९.६६ करोड भारु(९५.४५ करोड रुपैयाँ) तलब प्राप्त भयो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.९४ प्रतिशतले अधिक थियो । सोही कम्पनीमा कार्यरत कर्मचारीको औसत तलबको तुलनामा मुञ्जालको तलब ७ सय ३१ गुणा बढी रहेको मिडिया रिपोर्टमा जनाइएको छ ।

कम्पनीको २०१६-१७ को वार्षिक रिपोर्टका अनुसार कम्पनीका कर्मचारीहरुको औसत तलब वार्षिक ८.१६ लाख भारु रहेको छ ।

यस्तै, सन् २०१६ अगस्ट १६ मा कम्पनीको सह एमडीमा नियुक्त भएका सुनिलकान्त मुञ्जाललाई २०.९९ करोड भारु तलबको रुपमा प्राप्त भएको छ । यो तलबमा ग्रेच्युटी, इन्केसमेन्ट तथा अन्य रिटायरमेन्ट बेनिफिट्स सामेल छैन । यो तलब समेत कर्मचारीको औसत तलबको तुलनामा २७५ गुणाले बढी हो ।

हिरो मोटोकर्पका कार्यकारी निर्देशक बिक्रम एस कासबेकरले एक वर्षमा २.२२ करोड तलब बुझे । उनले समेत सन् २०१६ अगस्ट महिनामै काम सुरु गरेका थिए ।

बढ्यो कर्मचारीको तलब
कम्पनीको भनाईलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखे अनुसार व्यवस्थापकीय जिम्मेवारीदेखि अन्य विभागमा रहेका कर्मचारीहरुको समेत एक वर्षमा तलबमान १०.८० प्रतिशतले बढेको छ । सेयरधनीलाई गरिएको एक सम्बोधनमा पवन मुञ्जालले भनेका छन् कि कम्पनीले लगातार आफ्नो पोर्टफोलियो बढाइरहेको छ र भविष्यमा यो कम्पनीको नजर मोबिलीटी सोल्यूसन्समा रहेको छ ।

उनले भने–‘विद्युतीय गाडीको क्याटेगोरी तीव्र गतिमा विकास भइरहेको क्षेत्र हो । यो क्षेत्रमा हामी समेत आक्रामक रुपमा लाग्नुको अब अर्को विकल्प छैन । मुञ्जालका अनुसार यही उद्देश्य प्राप्तिका लागि हिरो मोटोकर्पले स्टार्टअप कम्पनी एथर इनर्जीमा लगानी गरेको छ, यो कम्पनीले विद्युतीय गाडीको उत्पादनमा विशेष काम गर्दै आएको छ ।’

गत वर्ष यो कम्पनीले बेंगलुरुको स्टार्टअप कम्पनी ऐथर इनर्जीको ३० प्रतिशत हिस्सेदारी खरीदका लागि २०५ करोड भारु लगानीको घोषणा गरेको िथयो । यो स्टार्टअप कम्पनीले स्मार्ट विद्युतीय भेइकलको डिजाइनिङ तथा उत्पादनमा काम गरिरहेको छ।