काठमाण्डौ । जाडोयाम सुरु हुने बेला भएको छ । यस्तो अवस्थामा यदि तपाई कुनै व्यापार सुरु गर्न खोजिरहनुभएको छ भने जाडोयाममा बढी प्रयोग हुने वस्तुहरुको व्यापार तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । यस्तो वस्तु वा सेवाको व्यापार गर्दा तपाईलाई फाइदा हुन्छ, कारण यस्तो विजिनेश सुरु गरेलगत्तै माग उच्च हुन्छ, जसबाट तपाईंले भनेजस्तै नाफा कमाउन सक्नुहुन्छ । आज हामी तपाईलाई जाडोयाममा कस्ता कस्ता व्यापार गर्न सकिन्छ भन्ने बिषयमा केही आधुनिक टिप्स दिन गइरहेका छौ । 

गिजर र हिटरको व्यापार

जाडो सुरु भएलगत्तै तपाईले गिजर र हिटरको व्यापार सुरु गर्न सक्नुहुन्छ । विभिन्न देशका गिजर र हिटरका विभिन्न उत्पादनहरु नेपालमा पनि पाइन्छ । यहाँका थोक बिक्रेतामा गएर वा आफैं छिमेकी देशका नजिकका बजारमा गएर आवश्यक सामाग्री ल्याउन सकिन्छ । कुनै निश्चित कम्पनीको डिलरसीप लिनुभन्दा सबै खालका कम्पनीहरुको कलेक्सन राखेर एक सेन्टर खोलेर व्यापार सुरु गर्न सकिन्छ । यसका लागि तपाईंले आफ्नो नजिकको शहरी क्षेत्रको बजारमा पसल राख्ने ठाउँ खोज्नुपर्ने हुन्छ । यस्तो वस्तुको व्यापारका लागि तपाईंलाई सुरुवातमा बढीमा ३ लाख रुपैयाँ भए पुग्छ । कारण, यस्तो विजिनेशमा थोक बिक्रेताहरुबाट धेरै सामान उधारोमा पनि लिन सकिन्छ । यो व्यापारबाट तपार्इंले महिनाको ८० हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । 

गार्मेन्टको विन्टर कलेक्सन
जाडोयाममा सबैभन्दा धेरै माग र बिक्री न्याना कपडाहरुको हुन्छ । यस्तो विजिनेश गर्नका लागि थोरै पूँजीबाट पनि सुरु गर्न सकिन्छ । ब्राण्डेड कपडाको विजिनेश सुरु गर्ने सोंच बनाउनुभयो भने सोही अनुसार केही बढी पूँजी आवश्यक हुन्छ । तपाईंले चाहनुभयो भने ५० हजार रुपैयाँसम्ममा पनि न्यानो कपडाको व्यापार गर्न सक्नुहुन्छ । काठमाण्डौका होलसेलरबाट कपडा खरीद गर्न सकिन्छ । होलसेलरसँग राम्रो सम्बन्ध राख्दा धेरै कपडा उधारो पनि पाइन्छ । आफैं चीन वा भारतीय बजार पुगेर समेत कपडा ल्याउन सकिन्छ । यस्तो कपडामा तपाईंले दुई गुणा भन्दा पनि बढी नाफा कमाउन सक्नुहुन्छ । पछिल्लो समय कतिपय ब्राण्डेड कम्पनीहरुले आफ्ना विन्टर कलेक्सनका नयाँ–नयाँ डिजाइन समेत लञ्च गरिरहेका हुन्छन् । 

कफीसप खोल्नुहोस्


जाडोयाममा शहरी क्षेत्रमा कफीको अत्यधिक माग हुन्छ । यसकारण तपाईंले कुनै व्यस्त बजारमा कफी सप खोल्नसक्नुहुन्छ । तपाईलाई कफी सप खोल्नका लागि थोरैमा २ देखि बढीमा ४ लाखसम्म खर्च हुनसक्छ । कारण, यसको डेकोेरेशनमा चाहि बढी खर्च हुन्छ । काठमाण्डौ, पोखरा जस्ता शहरमा कफी सप खोल्नका लागि कतिपय अन्तर्राष्ट्रिय ब्राण्डहरुले फ्रेञ्चाइजीको समेत अफर गरिरहेका हुन्छन् । यस्ता ब्राण्डसँग सम्पर्कमा रहेर आफ्नो थोरै लगानीबाट समेत कफी सप खोल्न सकिन्छ । यस्तो कफी सपबाट तपाईले न्यूनतम पनि मासिक ५० हजार रुपैयाँ सजिलै कमाउन सक्नुहुन्छ । 

विन्टर पर्यटनको  विजिनेश

नेपालका कयौं ठाउँ विदेशी पर्यटकका लागि रोजाईको गन्तव्य हो । पर्यटकहरु त्यस्ता कतिपय ठाउँमा विन्टर सिजनमै जान रमाउँछन । त्यसकारण यस्तो समयमा विन्टर टुरिजमको विजिनेश सुरु गर्नु समेत उत्तम हुनसक्छ । यसका लागि तपाईलाई धेरै केही पर्दैन । पायक पर्ने ठाउँमा एउटा अफिस हुन आवश्यक छ । पर्यटन मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालय, भ्याटमा दर्ता भई आफ्नो विजिनेश सुरु गर्न सकिन्छ । विदेशी पर्यटकसम्म पहुँच बनाउनका लागि तपाईंले एक राम्रो वेबसाइट पनि बनाउनुपर्ने हुन्छ । यसरी सुरुवातमा तपाईको बढीमा २ लाख खर्च हुनेछ । त्यसपछि नेपालमा जाडोयाममा बढी चहलपहल हुने पर्यटकीय गन्तव्यमा खोलिएका होटलहरुसँगको सम्पर्कमा रहेर तपाईंले आफ्नो व्यवसायमा गति भर्न सक्नुहुन्छ । एक अनुमानका अनुसार यो विजिनेशले गति लियो भने तपाईंले मासिक कम्तीमा पनि ६० हजार रुपैयाँसम्म कमाई गर्न सक्नुहुन्छ । 

वोल्डएज केयर होम
जाडोयाम बुढापाकाका लागि निकै कष्टपूर्ण हुन्छ । यस्तो समयमा घरका छोराबुहारी दुवै जागिरे भएमा घरमा रहने बूढाबुढीलाई निकै गाह्रो हुन्छ । यही कारण पछिल्लो समय काठमाण्डौमा ओल्डेज केयर होम संचालन हुन थालेको छ र यस्ता सेन्टरले कुस्त कमाइरहेका छन् । तपाईं पनि यस्ता केन्द्र खोलेर नयाँ ढंगको व्यवसाय सुरु गर्न सक्नुहुन्छ । यो व्यवसायका लागि केही कोठा भाडामा लिएर समेत वृद्धवृद्धालाई केयर गरी दिनभरि आफूसँग राख्न सकिन्छ । यसका लागि उनीहरुलाई राखिइने कोठामा हिटरको भरपर्दो व्यवस्थाको साथमा मनोरञ्जनको कुनै साधन पनि राखिइन आवश्यक हुन्छ । विकसित देशमा यो विजिनेश संस्थागत रुपमा नै फस्टाएको हुन्छ । तपाई पनि यस्तो किसिमको काम गर्न सक्नुहुन्छ ।