काठमाण्डौ । जापानले कोरोनाभाइरस रोकथामका लागि उपयोगी मानिएको एउटा औषधिको उत्पादन बढाउने निर्णय गरेको छ । साथै जापानले यो औषधि आपूर्ति गर्न इच्छुक देशहरुलाई निःशुल्क उपलब्ध गराउने पनि जनाएको छ।

चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछि जापानले त्यो औषधीको उत्पादन बढाउन लागेको हो। जापानी कम्पनी फुजीफिल्मले उत्पादन गरेको एभिग्यान नामक औषधीको चिनियाँ शहर वुहानमा परीक्षण गरिएको थियो। त्यही शहरमा कोरोनाभाइरसको प्रकोप पहिलोपटक सुरु भएको थियो।

चीनमा गरिएको परीक्षणमा त्यो औषधी दिइएपछि भाइरसको वृद्धि हुने दर घटेको र बिरामीहरूमा कोभिड-१९ का लक्षणहरू घटाउन सहयोग पुगेको चिकित्सकहरूले बताएको भनिएको छ।

बीबीसीका अनुसार अहिले टोक्योले एभिग्यानको उत्पादन बढाउने घोषणा गर्दै अर्को वर्षसम्म २० लाख मानिसलाई पुग्ने गरी त्यसको उत्पादन बढाइने बताएको छ। तर अन्य देशका अधिकारीहरूले त्यो औषधी अझै पूरै प्रभावकारी नभएको भन्दै त्यसले गर्भवती महिलामा खराब असर गरेको बताइरहेका छन्। त्यो औषधीको जापानमा जारी पहिलो परीक्षण जून महिनामा पूरा हुँदैछ।

जापान सरकारले चाहिँ इच्छुक देशहरूलाई त्यो औषधी नि:शुल्क वितरण गर्न सकिने सङ्केत दिएको छ।