काठमाण्डौ । जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेडले २०७५ चैत १ शुक्रबारदेखि औपचारिक रुपमा कारोबार थाल्ने भएको छ । 

यो कम्पनीलाई २०७५ कार्तिक ३० गते नेपाल राष्ट्र बैंक बाट १० जिल्ला कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त भएको थियो । 

यसअघि यस संस्थाले सृजना विकास केन्द्र, सृजना बैकिङ्ग कार्यक्रमको नामबाट वित्तीय मध्यस्थकर्ताको रुपमा लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको थियो । 

यस संस्थाको चुक्तापूँजी रू. ७ करोड रहेको छ भने सर्वसाधारणबाट रू. ३ करोड संकलन गरे पछि चुक्तापूँजी १० करोडको उचाईमा पुग्नेछ । यसको अर्थ कम्पनीले सर्वसाधारणका लागि ३ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । 

यस संस्थाको केन्द्रीय कार्यालय पोखरा–८, कास्कीमा रहेको छ भने कास्की, तनहुँ, गोरखा र लमजुङ्ग गरी ४ वटा जिल्लाहरुमा २१ वटा शाखाहरुमार्फत ३२,४९० सदस्यहरुलाई एस.एम.एस. बैकिङ्ग सुविधा सहितको लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ । 

यस संस्थाको हाल रू. १ अर्ब १० करोड कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट रू. ६९ करोड १४ लाख बचत संकलन गरेको छ ।

आगामी दिनमा वित्तीय संस्थाले गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा समेत लघुवित्त कार्यक्रमहरु विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ ।