काठमाण्डौ । विश्वभरका मोबाइल सेवाप्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट–अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरेको छ ।

नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवाप्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो ।

जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढी सेवाप्रदायकहरु र मोबाइल एकोसिस्टमका झन्डै ४०० कम्पनीहरुको साझा संगठन हो । यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोबाइल सेवाप्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के–कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढी प्रतिनिधिेहरुको सहभागिता रहेको थियो  ।

स्टार्ट अपहरुले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोबाइल सेवाप्रदायकसँग साझेदारी गराएका छन् भनेर जानकारी लिन पाएका थिए ।

“परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अब मुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकम कम्पनीहरुका लागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्ट अपहरुसँग साझेदारी गर्न आशावादी छ,” एनसेलकाचिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले भने ।

कार्यशालामा जिएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाइरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमा कसरी मोबाइल अपरेटर र स्टार्ट अपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । उनले जिएसएमएको मोवाइल फर डेभलपमेन्टका टिमहरुले आफ्ना ध्यान केन्द्रित गर्ने १० मुख्य पहलहरु क्लाइमेटटेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज्, मोवाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाइटी, कनेक्टेड ओमन, डिजिटल आइडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एग्रिटेकका बारेमा प्रकाश पारेका थिए । यी पहलहरुका लक्ष्य भनेको मोवाइल प्रविधिकामार्फत विश्वमा असमानता घटाउनु हो ।

व्यवसायीहरुले सामाजिक–आर्थिक विकासमा प्रभाव पर्ने गरी र आफ्नो व्यवसायको उद्देश्य पनि परिपूर्ति गर्ने गरी काम गर्नुपर्ने कुरामा मार्टिनले जोड दिए ।

कारखाना, आईसिटी फर एग्री, ई–सेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपायलगायत स्टार्ट अपहरुले यस कार्यशालामा सहभागीता रहेको थियो ।

टेलिकम कम्पनी र स्टार्ट अपहरुबीच सहकार्य आवश्यक रहेको बताउँदै सारथीका सहसंस्थापक रवि सिंघलले भने, ‘हाम्रो स्टार्ट अप पूर्ण रुपमा मोबाइल प्लेटफर्ममा आधारित भएकोले यो कार्यशालाले एनसेलसँग सम्भावित सहकार्यका लागि नयाँ बाटो खोलेको छ ।’ सारथीले अनलाइनबाटै आवतजावतका लागि ट्याक्सी सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ । “हामी टेलिकम सेवाप्रदायकहरुसँग मिलेर कसरी दुवै कम्पनीहरु, ट्याक्सी ड्राइभर र ग्राहकलाई लाभ दिन सकिन्छ भनेर कामगर्न खोजिरहेका छौं । स्टार्ट अपहरुलाई प्रोत्साहन गर्न यस किसिमको कार्यशालाआयोजनागरिएकोमाहामीनिकै खुसी छौ,” सिंघलले भने ।

“यस किसिमको कार्यशालाले हामीजस्ता स्टार्ट अपहरु र नीजि क्षेत्रका बीचमा रहेको दूरी कम गरी एकअर्काबीचमा सहकार्य गर्नका लागि मद्दत पुर्याउँछ,” कार्यशालाका अर्का सहभागी सोचवयेरका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक इदा रिजालले भनिन् । सोचवयेर आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफथिङको प्रोडक्टहरुमा काम गर्ने एक स्टार्ट अपहो । योे २०१८ को माइक्रोसफ्ट इम्याजिनकप आर्टिफिसियल इन्टेलिजेन्स अवार्डस विजयता पनि हुन्।

“हामी अझै धेरै सम्भावना भएको बजारमा रहेकाले अगासडि बढ्न र भुक्तानी प्रणालीलाई डिजिटाइज गर्नका लागि हामीले अझ धेरै काम गर्नुपर्नेछ,’’ भुतmानी सेवाप्रदायक खल्तीका रिसोर्स डेभलपमेन्ट अधिकृत सलोमी भट्टले भनिन् । खल्ती एक डिजिटल वालेट हो । यसले नेपालमा वित्तिय कारोबारलाई डिजिटाइज गर्न महत्वपूर्ण भूमिका खेलेकोले हालसालै आईसीटी अवार्ड पनि पाएको थियो ।

यस कार्यशालामा सहभागी स्टार्ट अपहरुले जिएसएमए र एनसेल प्रतिनिघि समक्ष आफ्ना स्टार्ट अपहरुका बारेमा पिच गर्ने मौका पाएका थिए । जिएसएमए इको सिस्टम एसेलेरेटरको टिमले स्टार्ट अपहरु र त्यसका संस्थापकहरुका साथ काम गरी मोबाइल अपरेटरहरुलाई आगामी दिनमा थप मूल्य प्रदान गर्ने किसिमले सेवा डिजाइन तथा कार्यन्वयनमा मद्दत पुर्याउनेछ । जिएसएमए इको सिस्टम एसेलेरेटर प्रोग्रामले अफ्रिका र एसियाप्यासेफिकका मोबाइल सेवाप्रदायक र स्टार्ट अपसँगको सहकार्यलाई अझै प्रगाढ बनाउन मद्दत गर्दछ ।