काठमाण्डौ । प्रथम चरणको निर्वाचनको क्रममा भरतपुरमा राज्यशक्तिको दुरुपयोग गरी मतपत्र च्यात्ने र त्यसैलाई निरन्तरता दिई पुनः निर्वाचन गराई चाहेको उम्मेद्वारलाई जिताइएको घटना ताजा छँदै प्रदेश २ मा जारी मतगणनामा समेत यस्तै दृश्य देखिन थालेको छ। 

सरकारले आफू अनुुकुलका निर्वाचन कर्मचारीहरुलाई पायक पर्ने ठाउँहरुमा खटाएर हार्नेलाई जिताएको र जित्नेलाई हराएको घटना वीरगञ्जमा सार्वजनिक भएको हो । 

स्थानीय संचारकर्मीहरुका अनुसार वीरगञ्ज महानगरपालिका वडानम्बर ३० को मतगणनाको क्रममा प्रमुख निर्वाचन अधिकृत र अन्य कर्मचारी नै धाँदलीमा संलग्न रहेका प्रमाणित भएको हो । 

बुुधबार साँझ सम्पन्न यो वडाको मतपरिणाम अनुसार प्रारम्भमा कांग्रेस उम्मेद्वार अलि हुसेन देवानले १ मतको अन्तरले एमाले उम्मेद्वारलाई जितेको घोषणा गरिएको थियो । तर, एमालेका स्थानीय नेताहरुले त्यहाँ धाँदली भएको र यो परिणाम नमान्ने अडान लिएका थिए । 

एमाले सांसद विचारी यादव र राजकुमार गुप्ता लगायतले समेत दवाब दिएर सो वडाको मत पुनः गणना गर्न लगाइएको थियो । पुनः गनिएको मत परिणाममा भने एमालेको तर्फबाट वडाअध्यक्षका उम्मेद्वार अमानत मिया नेपाली कांग्रेसका अली हुसेन भन्दा अगाडि देखिए । अमानतले ४ सय ६६ मत ल्याए । देवान अमानतभन्दा ११ मतले पछाडि परे । 

निर्वाचन कर्मचारीहरुकै संलग्नतामा मतपत्र लुकाएर कांग्रेस उम्मेद्वारलाई विजयी घोषणा गरिएको एमालेका कार्यकर्ताको आरोप छ । उनीहरुले प्रमुख निर्वाचन अधिकृत विष्णुु पराजुली लगायतका निर्वाचन कर्मचारीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । 

पर्सा सहायक प्रमुख जिल्ला अधिकारी दुुर्गादत्त पौडेलले प्रमुख निर्वाचन अधिकृत पराजुलीको बिषयमा धेरै गुनासा आएपछि आफू र जिल्ला प्रहरी प्रमुख गएर निश्पक्ष काम गर्न आग्रह गरेको बताए । पराजुलीले भने निश्पक्ष काम गरिरहेको दाबी गरेका छन् ।