काठमाण्डौ । आफ्नो गाउँ आफैं बनाऔं र सामाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याएका दिवंगत पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानका साथ विदाई गर्ने सरकारले निर्णय गरेको छ । 

आइतबार बसेको मन्त्री परिषद बैठकले शनिवार राति उपचारको क्रममा राजधानीको ह्याम्स अस्पतालमा निधन भएका अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टिको निर्णय गरेको हो ।
 
लामो समयदेखि फोक्सो र मुटुसँग सम्बन्धित समस्याबाट प्रताडित भई उपचार गराउँदै आएका अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको थियो । 

उनले पछिल्ला जीवनकालमा नेकपा नेतृत्वको सरकारले आफूलाई बेवास्ता गरेको गुनासो गर्ने गर्थे । दुईतिहाई सरकारले बजेट बनाउँदा त्यसमा उनले लिखित सुझाव दिन खोजे पनि सरकारले त्यो अस्वीकार गरी आफ्नो अपमान गरेको उनकै निवासमा त्यसबेला विजशालाले गरेको भेटमा बताएका थिए । 

शालीन, सधैं मुस्काइरहने बौद्धिक नेताको पहिचान बनाएका उनलाई आफू सम्बद्ध दलकै सरकार र नेताहरुले बेवास्ता गरे पनि आर्थिक विकासका लागि उनले आफ्नो विचार राख्न छाडेका थिएनन् । विभिन्न सार्वजनिक मिडियामार्फत उनले आर्थिक समृद्धिका लागि आफ्ना सूत्रहरु सेयर गरिरहेकै थिए । 

बाँचुञ्जेल खासै वास्ता नगरेको सरकारले उनको निधनपछि अन्तिम अवस्थामा उनको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय शनिवार गरेको थियो । यस्तै, आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टिको राम्रो निर्णय गरेको अधिकारी निकट नेकपाका एक नेताले बताए । 

उनकै सोंचबाट जन्मिएको आफ्नो गाउँ, आफैं बनाऔं र वृद्धभत्ताजस्ता सामाजिक सुरक्षा भत्ताको लोकप्रिय कार्यक्रमलाई संसोधन गरी तयार गरेको चुनावी घोषणापत्रको जगबाट चुनाव जितेको नेकपाले त्यो अवधारणाका जन्मदातालाई बाँचुञ्जेल बेवास्ता गर्नु राम्रो भएको थिएन । ती नेताले भने ः तर, निधनपछि चाहि राम्रो र सम्मानका साथ विदाई गर्ने निर्णय सही छ । 

क्याबिनेट बस्नुअघि नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्व. अधिकारीको शव राखेर श्रद्धाञ्जली दिइएको थियो । त्यहाँ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर विदाई गरेका थिए ।