काठमाण्डौ । उद्योगीहरुले कुल ग्राहस्थ उत्पादन(जीडीपी)को न्यूनतम १० प्रतिशत रकम पूर्वाधारको विकासमा खर्च गर्नुपर्ने माग गरेका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलका सहभागीले त्यस्तो माग गरेका हुन् ।

प्रधानमन्त्रीको कार्यालयमा भएको भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले अर्थव्यवस्थाका वर्तमान चुनौतिहरुको विश्लेषण गर्दै त्यसको समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा अध्यक्ष शर्माले विश्व अर्थतन्त्रमा संकुचन आए पनि नेपाली अर्थतन्त्रको वृद्धि आशावादी रहेकाले सरकारका अगाडि राम्रो अवसर रहेको औंल्याए ।

परिसंघको धारणा प्रस्तुत गर्दै शर्माले भने, “सरकारद्वारा प्रारम्भ गरिएका राष्ट्रिय गौरवका आयोजनाहरुः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, हेटौडा–निजगढ द्रूतमार्ग, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई तीव्रता दिनुका साथै पूर्वाधार निर्माणका लागि कुल गार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम विनियोजन गर्नुपर्ने आवश्यकता रहेको छ ।”

ठोस रुपमा औद्योगिक विकासका लागि इण्डष्ट्रीयल क्लस्टरको  विकास गर्दै धरमराउँदो अवस्थामा रहेको निजी क्षेत्रलाई सबलीकरण गर्न नीतिगत सुधार गर्नुपर्नेमा उनले जोड दिए ।