काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायत सरकारबाट संचालित विभिन्न कोषमा थुप्रिएको निकै ठूलो रकमलाई पूँजीबजारको विकासमा खर्च गरिने घोषणा गरेका छन् । 

आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो घोषणा गरेका हुन् । 

कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, शैक्षिक सुधार कोष, स्वास्थ्य सुधार कोष, वन विकास कोष जस्ता कैयन सरकारी कोषहरुको जोड कुल ग्राहस्थ उत्पादन(जीडीपी)को २० प्रतिशत पुग्ने हिसाब प्रस्तुत गर्दै भने–‘यति ठूलो रकमको ठूलो हिस्सा पूँजीबजारको विकासमा खर्च हुनेछ । बाँकी रहेको केही पैसा मुद्रा बजारको विकासमा खर्च गरिनेछ ।’

उनले दोश्रो बजारप्रति विश्वास नबढाएसम्म मुलुकले समृद्धिको यात्रा तय गर्न नसक्ने समेत दाबी गरे । 

‘हामीलाई विकास निर्माण र समृद्धिका लागि स्वपूँजी चाहिन्छ, यस्तो पूँजीको व्यवस्था पूँजीबजारबाटै मात्र संभव हुन्छ ।’ उनले भने–‘तसर्थ अहिलेको समयमा सेयर बजारका लगानीकर्ताको विश्वास बढाउनुपर्ने अवस्था आएको छ । यो विश्वास बढाउनका लागि दोश्रो बजारमा लगानीको उपयुक्त समय पनि अहिले नै हो।’

उनले बैंकहरुको नाफा बढिरहेको, वित्तीय प्रणालीको नाफा पनि बढि नै रहेको, आर्थिक वृद्धि माथि गइरहेको, राजनीतिक स्थायीत्व, सुदृढ सुशासनको अवस्था रहेको तथा करका समस्या हल हुँदै गएकाले दोश्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने उपयुक्त समय पनि अहिले नै रहेको दाबी समेत गरे ।‘दोश्रो बजारमा नयाँ लगानीकर्ताले प्रवेश गर्ने उपयुक्त समय हो । पूँजीबजारलाई गति दिन लाग्ने बेला हो ।’ डा. खतिवडाले भने–‘बजारसँग सम्बन्धित तथा संलग्न सार्वजनिक संस्थानहरुलाई क्रियाशील भएर बजार सुधार गर्न लाग्न आग्रह गर्छु ।’ 

उनले इक्वीटी मार्केट देशलाई चाहिने र त्यो भनेकै पूँजीबजार रहेको उल्लेख गर्दै भने–‘सेयर र बण्ड दुवैको बजार विकास हुँदैछ । पूँजीबजारमा लगानी बढाउने वातावरण तयार गरदिन वित्तीय क्षेत्रका साथीहरुलाई अनुरोध गर्दछु ।’ 

उनले कर्मचारी सञ्चकोष लगायतका ठूला कोषहरुलाई मुद्रा बजार उत्तेजित बनाउने गरी कुनै पनि गतिविधि नगर्न समेत चेतावनी दिएका छन् ।

हिजोको दिनमा पनि यस्ता कोषहरुबाट मुद्राबजारलाई उत्तेजित बनाउने र अल्पकालनि ब्याजदरलाई प्रणालीले धान्नै नसक्ने गरी बनाउने प्रयास पनि भए । उनले थपे–‘हामीले उनीहरुलाई अनुशासनमा बसाउने काम पनि गरेका छौ । अब पनि कुनै बाहानामा मुद्रा बजारलाई उत्तेजित बनाउने प्रयास नहोस् ।