-भक्तराज रसाइली
काठमाण्डौ । जीप कम्पनीका गाडीहरु पछिल्लो समय नेपालमा लोकप्रिय भइरहेका छन्। 

यो गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल प्रा.लि. हो । जीपका गाडीहरु विशिष्ट ब्राण्डका कारणले नै कम समयमा सोचेभन्दा राम्रो बिक्री भइरहेको कम्पनीका सिनियर मार्केटिङ अफिसर किरण आचार्यले बिजशालालाई बताए।

जीपको कम्पास गाडीले छुट्टै विशेषताहरु बोकेका कारणले नाडा अटो शोमा पनि घूइँचो लागेको कम्पनीको दाबी छ । यो अमेरिकी ब्राण्डको गाडी हो । 

दुई महिनाअघि नेपाल भित्रिएको कारमा नाडा शो र शोरुमबाट पनि अत्यधिक बिक्रीबितरण भइरहेको आचार्यको दाबी छ । हेड ल्याम्प र ग्रिलको सुविधा र कलर भेरिएसन कारमा भएसँगै यसमा ६ एयरब्याग, एबिएस, एबिडी लगायतका निकै आकर्षक विशेषता रहेको आचार्यको भनाई छ ।

जीपको कम्पासमा १७८ मिमि ग्राउण्ड क्लियरेन्स, सेफ्टी फिचर र आरामदायी गाडी भएको तथा पेट्रोल गाडीमा ३ वटा र डिजल गाडीमा ७ वटा जीप कम्पास भएको र यसको मूल्य ६८ लाख ५० हजारबाट सुरु भई ९६ लाख ५० हजारसम्म छ । पेट्रोल गाडी १४ सय सिसि र डिजल गाडी २ हजार सिसि रहेको उनले थपे ।

प्रिमियम क्लास र ब्राण्ड कन्सियस उपभोक्ता लक्षित जीप कम्पास खरिदमा एसेसरिज र १ लाखसम्म १ वर्षको निशुल्क इन्सुरेन्स सुविधा रहेको कम्पनीले दाबी गरेको छ । ओरिजिनल एसयुभी जीप नै हो, सेभेन स्लट फ्रन्ट ग्रिल, एलो ह्वील, ट्रापेज्युडिकल ह्वील आर, इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायतका फिचर भएको कम्पनीले जनाएको छ । 

सय प्लस सेफ्टी फिचरजडित जीपमा क्यापलेस फ्यूल फिल्टर, ड्युअल कोर, मोड सेलेक्सन, क्लियर हेडल्याम्पको पृथक विशेषता रहेको आचार्यले बताए ।