काठमाण्डौ । पछिल्लो समय बिमा गर्नेको संख्या र कारोबार रकम दुवैमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म जीवन बिमा कारोबार १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो त्रैमासिकसम्म १३ अर्ब ११ करोड ५२ लाख रुपैयाँको जीवन बिमा कारोबार भएको थियो । जीवन बिमाबापतको शुल्क गत वर्षको तुलनामा यस आर्थिक वर्ष तीन अर्बभन्दा बढीले वृद्धि छ । 

चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म सात लाख ५९ हजार २० जनाले बिमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार एक सय ४९ जनाले जीवन बिमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बिमा गर्ने पनि एक लाख दुई हजार आठ सय ५१ जना बढेका छन् । बिमा गर्नेको संख्या बढेसँगै बिमा रकम पनि बढेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।

यस अवधिमा सात अर्बको सर्वाधिक जीवन बिमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बिमा ६ अर्ब रुपैयाँ मात्र थियो । यसरी बिमा गराउने कम्पनीमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स छ ।यो कम्पनीले यस अवधिमा चार अर्ब ९४ करोडको जीवन बिमा गराएको छ । जीवन बिमा गराउने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा तीन अर्ब ६७ करोडको जीवन बिमा गराएको छ । नेसनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बिमा गराउने कम्पनीको तेस्रो स्थानमा छ । यो अवधिमा कम्पनीले दुई अर्ब नौ करोडको जीवन बिमा गराएका थिए । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।