काठमाण्डौ । बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई बिमाशुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ । 

समितिले बिहीबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै अर्थ मन्त्रालयबाट आएको निर्देशन बमोजिम कोभिड १९ संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिका नभएकोले संक्रमणका कारण प्रभावित जीवन बिमा सम्बन्धी बिमाशुल्क संकलन गर्न स्थगन गर्न भनेको हो । 

चैत मसान्तसम्म स्थगन हुने बिमाशुल्क संकलन कार्यलाई परिस्थिति सामान्य भएपछि अगाडि बढाउन र त्यसमा ब्याज समेत नलिन निर्देशन दिइएको छ । 

बिमा कम्पनीहरुलाई समितिले ६ बुँदे निर्देशन दिएको छ । 

जसअनुसार बिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित बिमितको लिखित अनुरोध(विद्युतीय माध्यमबाट प्राप्त)को आधारमा बिमालेख नवीकरण हुने व्यवस्था मिलाउन समेत भनिएको छ । 

यसैगरी, समितिले अभिकर्ता इजाजतपत्र नवीकरणका लागि बिमकमार्फत समितिको नवील बैंकमा रहेको खातामा चैत मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरीवाना नलाग्ने व्यवस्था समेत गरेको छ । 

सर्भेयर इजाजतपत्र नवीकरणका लागि पनि बिमा समितिको नवील बैंकमै रहेको खातामा चैत मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरीवाना नलाग्ने अर्को व्यवस्था समेत गरिएको छ । 

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दाबीभुक्तानीका लागि विद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्न समेत समितिले निर्देशन दिएको छ । 

यस्तै, जीवन बिमकले अवधि समाप्तिपछिको बिमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउन तथा अन्य बिमा दाबीको हकमा बीमितले विद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दाबी भुक्तानी गर्न समेत समितिले निर्देशन दिएको छ ।