काठमाण्डौ । केही दिनयता नेप्सेमा देखिएको गिरावटले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको छ ।

बजारको चार्म र नेप्से इन्डेक्समा आएको बढ्दो ट्रेन्डलाई समाउने लगानीकर्ताहरुको प्रयासले हाल बजारमा करेक्सन आएको हो । दोस्रो बजारमा धितोपत्र कारोबार गरिरहेका लगानीकर्ताहरुले बुलिस ट्रेन्डमा सर्ट–टर्म प्रफिट बुक गर्ने अभिलाषा रहेको देखिन्छ । बढ्दो ट्रेन्डमा लगानीकर्ताहरुले सेयरमूल्य बढ्ने आशामा उच्च खरिदचाप पर्दछ र ब्रोकरहरुसँग सेटेलमेन्टमा अत्याधिक चाप परी बेच्नुपर्ने बाध्यताले आपूर्ति अधिक हुँदा बजार करेक्सन मोडमा गएको हो । तर यो निकै लामो समयदेखि भोकाएका लगानीकर्ताहरुले सर्ट–टर्म प्रफिट बुक गर्ने सर्ट–टर्म व्यवहारमात्र भएको जानकारहरु बताउँछन् ।

बढ्दो बजारमा अल्पकालीन नाफा कमाउने होड चल्दा कारोबार संख्यासमेत उल्लेख्य मात्रामा बढ्नु र दैनिक कारोबार रकम एक अर्ब बढी हुनुले बजारले सकारात्मक आशा देखाएको छ । साना तथा मध्यम लगानीकर्ताहरु निकै सलबलाइरहेका बेला ठूला लगानीकर्ताहरु भने अझै ‘पर्ख र हेर’ को मनस्थितिमा रहेका स्टक ब्रोकरहरु बताउँछन् ।

चौतर्फी सकारात्मक माहौल बनिरहेको सेयर बजारमा निकट समयमै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्ने तरखरमा रहेका बिमा कम्पनीहरुमा यतिखेर लगानीकर्ताहरु झुम्मिएका देखिन्छन् । 

आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा १५.९५ अंकले गिरावट आउँदा १२९७.४७ विन्दुमा झर्यो । सेन्सेटिभ इन्डेक्स भने ३.५९ अंकले घट्दा २७८.७२ को विन्दुमा सीमित बन्न पुग्यो । 

नेप्सेमा रहेका १२ उपसमूहमध्ये आजको दिन अन्य र जीवन बिमा समूहमा हरियो पोतियो भने बाँकी १० समूहमा रातो पोतियो । यो दिन जीवन बिमा समूहमा ४०.८८ अंक र अन्य समूहमा १.७२ अंकको बढोत्तरी भयो । 

बैंकिङ समूहमा २१.३३ अंक, व्यापार समूहमा ११.६६ अंक, होटल्स् समूहमा ३२.५६ अंक, विकास बैंक समूहमा १९.२७ अंक, जलविद्युत समूहमा १५.५२ अंक, वित्त समूहमा ७.२६ अंक, निर्जीवन बिमा समूहमा ६६.६२, लघुवित्त समूहमा १४.९८ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको गिरावट देखियो । 

धेरै कारोबार कम्पनीहरु

साताको कारोबारको अन्तिम दिन आज सूचीकृत कम्पनीमध्ये १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता सेयर १५ हजार ३१६ कारोबार संख्यामा १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४१२ रुपैयाँमा कारोबार भयो ।

निकट समयमा बम्पर लाभांशको तीव्र पर्खाइमा बसेका लगानीकर्ताहरुले नेपाल लाइफ इन्स्यारेन्समा आकर्षण देखाउँदा यो स्क्रिप्टको मात्र १८ करोड ४० लाख रुपैयाबराबरको कारोबार भयो । त्यस्तै ग्लोबल आईएमई बैंकले पनि १५ करोड ५२ लाख रुपैयाँबराबरको उच्च कारोबार गर्यो ।

त्यस्तै नेपाल बैंकले ५ करोड ७९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ५करोड ३८ लाख रुपैयाँ, नेको इन्स्यारेन्सले ४ करोड ५१ लाख, सूर्य लाइफ इन्स्योरेन्सले ३ करोड ८५ लाख, ग्रामीण विकास लघुवित्तले ३ करोड ८२ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड ५७ लाख, एसियन लाइफले ३ करोड ५३ लाख र लाइफ इन्स्यारेन्सले २ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा ९.४७ प्रतिशतले वृद्धि भयो ।

आजको दिन सिद्धार्थ इक्विटी फन्डका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ७ प्रतिशतको हाराहारीमा गिरावट आयो ।