काठमाण्डौ । आधुनिक समयमा सेयर बजार मात्र होइन, लगानीका अनेकन विकल्प छन् । नेपालको सेयर बजारमै पनि बैंक तथा वित्तीय संस्थामा गरिएको लगानीले राम्रो रिटर्न दिन्छ भन्ने आम बुझाई छ । तर, बैंक तथा वित्तीय संस्थामा आइरहने नयाँ व्यवस्था र परिवर्तनले यो क्षेत्रमा लगानी गर्नेहरु पनि धरमराउन थालेका छन् ।

केही वर्षअघिसम्म लगानीको निकै राम्रो रिटर्न पाइने क्षेत्रको रुपमा परिभाषित रियलस्टेट समेत अहिले गिर्दो अवस्थामा छ । 

लगानीका अनेक विकल्प रहे पनि त्यहाँ जोखिमै जोखिम वा अन्यौल नै अन्यौल रहेको अवस्था कम चुनौतिपूर्ण होइन । तर, हरेक संभावित क्षेत्रमा लगानी गर्नुअघि ध्यान दिनुपर्ने ५ कुरा चाहि सबैका लागि उत्तिकै महत्वपूर्ण र विशेष हुन्छन् । के हुन् त ती पाँच सूत्र ? 

१.तपाई कुन आवश्यकता पूरा गर्न लगानी गर्दै हुनुहुन्छ ?
तपाई पहिला आफ्नो आवश्यकताको विषयमा प्रष्ट हुनुहोस्, अनि मात्र लगानीको क्षेत्र वा विकल्पको विषयमा ध्यान दिनुपर्छ । आफ्नो आवश्यकता अनुसारको लगानी लक्ष्य बनाए मात्र सफलता पाउन सकिन्छ । केही ठूला आवश्यकताहरु जस्तै, घर किन्नू, बच्चाको पढाई, विवाह वा रिटायरमेन्ट योजनाका लागि तपाईलाई कहिले र कति पैसा चाहिन्छ, यो विषयमा स्पष्ट योजना बनाएर मात्र लगानी गर्नुपर्दछ । 

२.तपाई कति समयका लागि लगानी गर्न चाहनुहुन्छ ?
तपाई कति समयका लागि लगानी गर्न चाहनुहुन्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो । यसको अर्थ हो लगानी गरेको पैसाको आवश्यकता तपाईलाई कहिले पर्छ, त्यो निर्धारण हुनुपर्छ । लगानीको समयसीमा अनुसार लङ टर्म, मिड टर्म वा सर्ट टम योजना बनाउनु पर्छ । यदि तपाईले आवश्यकता पूरा गर्नका लागि लगानी गरिरहनुभएको छ भने यसका लागि राम्रो योजनाको साथमा सही समयसीमा समेत बनाउनुपर्ने हुन्छ। सही समय सीमाले मात्र तपाईको लगानी उद्देश्य पूरा हुनसक्छ । 

३.तपाई कति जोखिम लिन सक्नुहुन्छ ?
जोखिम लिनसक्ने आफ्नो क्षमताको विषयमा विचारै नगरी वा अनुमान नै नलगाई लगानी गर्नुभयो भने तपाईलाई ठूलै नोक्सानी हुनसक्छ । त्यसकारण लगानी गर्नुअघि तपाई आफूले कति जोखिम बहन गर्न सक्छु भन्ने कुरा सोच्नुहोस् । 

४.अलग अलग ठाउँमा लगानी गर्नुहोस्
तपाईले कहिल्यै पनि तपाईको सबै लगानी एउटै क्षेत्र वा कम्पनीमा गर्नुहुँदैन । लगानीलाई सेयर बजार, सुनचाँदी, ऋणपत्र, मुद्धती निक्षेप, जस्ता विकल्पहरुमा आफ्नो आवश्यकताका आधारमा बाँड्दा राम्रो हुन्छ । यी लगानीका विकल्पहरुमा मिलाएर लगानी गर्न थाल्नुभयो भने तपाईले जोखिम पनि कम बहन गर्नुपर्ने हुन्छ । 

५.कुन प्रडक्टमा लगानी गर्ने हो ?
तपाईले आफ्नो लगानीको आवश्यकतालाई ध्यानमा राखेर प्रडक्ट छनौट गर्नुपर्छ । यस्तो प्रडक्ट छान्नुहोस्, जसबाट तपाइको उद्देश्य पूरा होस्  र जोखिम लिने क्षमतासँग पनि मेल खाओस् ।