काठमाण्डौ। भीरबाट लड्न लागेको भैंसीलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न भनेजस्तै भएको छ आँखुखोला जलविद्युत कम्पनी लिमीटेडको आइपीओ । यो कम्पनीको आइपीओमा लगानी गर्नु जोखिमपूर्ण रहने जान्दा जान्दै लगानीकर्ताहरुले मरिहत्ते गरेर आवेदन दिएका छन् । 

आयोजना प्रभावितले समेत अधिकांश कित्ता नकिनेको आइपीओमा सर्वसाधारण लगानीकर्ताले लगानी गरेका छन्, जुन जोखिमपूर्ण त छँदैछ, यो लगानीले रिटर्न दिन मात्रै पनि धेरै वर्ष कुर्नुपर्ने अवस्था छ । 

यो कम्पनीको आइपीओमा बिहीबारसम्म करिब साढे ६१ हजार आवेदकबाट ४४ करोड भन्दा बढीको प्रस्ताव परेको छ । यो भनेको कम्पनीको माग भन्दा करिब साढे ३ गुणा बढी आवेदन हो । 

बित्तीय अवस्था निकै कमजोर रहेको र प्रतिमेगावाट लागत पनि उच्च रही केही वर्षसम्म न्यून रिटर्न पाइने अवस्था रहे पनि लगानीकर्ता भने आँखुखोला जलविद्युत कम्पनी लिमीटेडले निश्कासन गरेको आइपीओमा झुम्मिएका हुन् । 

कम्पनी आफैंले आइपीओका लागि प्रकाशित गरेको आह्वानपत्रमा तीन वर्षपछि पनि प्रतिसेयर आम्दानी ४ रुपैयाँ २० पैसा मात्र हुने प्रक्षेपण गरेको छ ।

कम्पनीमा प्रति मेगावाट लागत मात्रै २८.८९ करोड रहेको छ, यो भनेको उच्च लागत हो । आयोजनाको साधारण लगानी फिर्ताको अवधि ८.९१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २३.९९ वर्ष रहेको छ । 

आह्वानपत्रमा अध्ययन गर्ने जोकोहीले यो कम्पनी कति कमजोर र यसमा गरिएको लगानी कति जोखिमपूर्ण छ भन्ने प्रष्ट बुझ्छ । तर, आइपीओ भन्नेबित्तिकै मरिहत्ते गर्ने लगानीकर्ताले यति कमजोर कम्पनीमा समेत दिल खोलेर आवेदन दिए। 

कम्पनीले निश्कासन गरेको १३ करोड ७६ लाख २० हजार रुपैयाँ बराबरको आइपीओमा आवेदन दिन शुक्रबार अन्तिम दिन हो । 

यो कम्पनीको आइपीओमा पहिलो दिन नै ११ करोड ६५ लाख भन्दा बढीको आवेदन परेको थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गरेको हो ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १२ लाख कित्ता आइपीओ सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानीकोषहरुका लागि छुट्याएको थियो । कर्मचारीका लागि २ प्रतिशत र सामूहिक लगानीकोषका लागि ५ प्रतिशत छुट्याएको छ र बाँकी कित्ता सर्वसाधारणका लागि निश्कासन भएको छ ।

यो कम्पनीको आर्थिक वर्ष २०७४ ७५ मा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा रहेको छ ।  

कम्पनीले जारी गरेको आइपीओर्ला इक्रा नेपालले सबैभन्दा कमजोर ग्रेड फाइभको रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो । 

यसअघि कम्पनीले आयोजनास्थिल धादिङका स्थानीयका लागि ८ लाख कित्ता सेयर निश्कासन गरे पनि १ लाख ७६ हजार २० कित्ता बिक्री भएको थिएन । 

रु ६०,००,००,०००।–संस्थापक शेयरधनीहरुको स्वपूँजी, रु। १,५८,१६,८४,६३१।– सहवित्तियकरण अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त ऋण र वाँकी व्यत्तिmगत ऋण तथा अन्य दायित्व प्रयोग गरी आयोजना सम्पन्न गरिएको छ ।

सर्वसाधारणहरुले दरखास्त दिँदा कम्तिमा ५० कित्ता र बढीमा ६,००० कित्ताका लागि निवेदन दिन सक्नेछन । ५० कित्ताभन्दा बढी शेयरका लागि दरखास्त दिंदा १० अंकले भाग जाने संख्यामा दरखास्त दिनु पर्नेछ ।

यस कम्पनीबाट प्रवद्धित आँखुखोला –१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २४२.७३ करोड रहेको छ । आयोजना निर्माण सम्पन्न भई मिति २०७० साल भाद्र ८ गतेबाट व्यवसायिक उत्पादन सुरु भइसकेको छ ।