जुम्ला। एक सातायता जुम्लामा दुई करोड २५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ। यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन्। 
 
अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको कृषि विकास कार्यालयले जनाएको छ। व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो ६० रुपैयाँका दरले खरिद गर्न थालेका छन्। चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाही बगैँचाबाटै तीन लाखभन्दा बढीको स्याउ बिक्री गरेको बताउँछन्। 
 
सोही वडाकै सरस्वती देवकोटा लगानीअनुसारको आम्दानी गर्न सफल भएको बताउँछिन्। स्याउमा चमेरो, अरिङ्गाल, कोइरालोलगायतले क्षति पुर्याउन थनलेकाले चाँडै बेच्नु परेको उनको भनाइ छ।
 
सुर्खेत र नेपालगञ्जमा स्याउको मूल्य ह्वात्तै घटेकाले व्यापारी मारमा परेका छन्। ग्रेडिङ र प्याकेजिङ बिना स्याउ धमाधम बिक्री हुन थालेको छ। ग्रेडिङ नगरिएको स्याउले उचित मूल्य नपाउँदा व्यापारी चिन्तामा छन्। 
 
जिल्ला सहकारी संघमा रहेको ८० लाखको ग्रेडिङ मेसिन सञ्चालनमा आउन सकेको छैन। दिनहुँ हातले नै स्याउ ग्रेडिङ गर्नु परिरहेको व्यापारी रामकृष्ण चौलागार्इंले बताए।उनले ६५ मेट्रिक टन स्याउ खरिद गरेका थिए भने करिब २५ मेट्रिक टन कमसल स्याउ भेटिएको छ। जुम्लामा प्रतिकिलो ६० मा खरिद गरिएको स्याउ काठमाडौँमा १२० मा बिक्री गर्ने सम्झौता भएको चौलागाईंले बताए। उनले करिब ३५ लाखको स्याउ खरिद गरेका छन्।
 
भदौ पहिलो साताभित्रै जुम्लाका ९० प्रतिशत स्याउका बगैँचा रित्तिएका छन्। पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनबहादुर डाँगी व्यापारीले अत्याएका कारण स्याउ पूर्ण रुपमा तयार हुन नपाएको बताए।