काठमाण्डौ । भारतमा बित्त मन्त्री अरुण जेट्लीले गुड्स एण्ड सर्भिस ट्याक्स(जिएसटी) काउन्सिलको बैठकपछि होटेलहरुका लागि नयाँ करको दर निर्धारण गरिएको घोषणा गरेका छन् । नयाँ रेटका अनुसार अब ७ हजार ५ सय भारु महंगो होटलको रुममा बस्ने पर्यटकले अनिवार्य रुपमा २८ प्रतिशत जिएसटी दिनुपर्ने हुन्छ । भारत सरकारले १ जुलाईदेखि जिएसटी लागू गर्दैछ, यसको अर्थ हो जुलाईदेखि भारत घुम्न निकै खर्चिलो पर्नेछ । 

नयाँ रेटका अनुसार ७ हजार ५ सय भारुदेखि महंगो दरका होटलको कोठामा बस्दा २८ प्रतिशत अतिरिक्त कर तिर्नुपर्नेछ । यस्तै, २५ सयदेखि ७५ सय भारुसम्मको कोठामा बस्दा १८ प्रतिशत जिएसटी तिर्नुपर्छ।

पर्यटन उद्योग ध्वस्त हुनसक्ने
टाभल कम्पनी एसटीआईका चेयरम्यान सुुभास गोयललाई उद्धृत गर्दै भारतीय मिडियाहरुले लेखेअनुसार जिएसटीको नयाँ रेटका कारण छिमेकी अन्य देशको तुलनामा भारतीय पर्यटन उद्योगको प्रतिस्पर्धात्मक क्षमता हराउनेछ । इन्टरनेशनल टुरिस्ट ज्यादातर फाइभ स्टार होटलमा रहन्छन् । उदयपुर र गोवा जस्ता स्थानका राम्रा स्टार होटलको प्रति कोठाको रेट ७५ सय भारु भन्दा बढी हुन्छ । यसकारण समेत उपभोक्ता बनेर आउने पर्यटकहरुको बजेटलाई जिएसटीले केही खर्चिलो बनाइदिनेछ । 

होटल तथा रेष्टुरेन्ट एशोसिएसन अफ इण्डियाका प्रेजिडेन्ट दिलिप दतवानीलाई उद्धृत गर्दै मिडियाहरुले जनाए अनुसार भारतको कर प्रणाली छिमेकी देशको तुलनामा समेत प्रतिस्पर्धी हुने छैनन्, यसले पूरा भारतको पर्यटन उद्योग ध्वस्त हुनसक्छन् । म्यानमार, थाइल्याण्ड, सिंगापुर, इण्डोनेशिया र मलेशियाजस्ता देशहरुमा कर ५ देखि १० प्रतिशतको रेञ्जमा मात्र छ । यो कुरा भारत सरकारले भूलेको दतवानीले बताएका मिडिया रिपोर्टमा उल्लेख छ । यस्तो अवस्थामा पर्यटकहरु भारत आउन छाडेर अन्य देश जानसक्ने संभावना बढेको पर्यटनविदहरुको दाबी छ ।