काठमाण्डौ । सरकारले लकडाउन खुलाएलगत्तै काठमाण्डौबासीले पोखरा, चितवन लगायतका पर्यटकीय गन्तव्यमा सस्तो दरमा घुमफिर गर्न पाउने भएका छन् । 

बुद्ध एयर र यसको भगिनी संस्था बुद्ध होलिडेजले यस्तो प्याकेज सार्वजनिक गरेको हो । 

सरकारको उडान संचालन गर्न दिने निर्णय अनुसार जुन १ तारिखबाट बजार व्यवस्थाप गरी संचालन गर्ने उद्देश्य अनुरुप उडान र होलिडे प्याकेज सार्वजनिक गरिएको बुद्ध एयरले जनाएको छ । तर, लकडाउन बढेको खण्डमा भने उडान र होलिडे प्याकेजसम्बन्धी निर्णय पछि धकेलिनेछ । 

‘बुध्द होलिडेज’मार्फत पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटल मार्फत साझेदारीमा पर्यटन प्रवद्र्धन गर्न लागिएको बताइएको छ । बुद्ध एयरले यसका लागि संक्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि ‘सांगठनिक लिखित निर्देशिका’ तयार गरिसकेको छ । 

लकडाउनपछि शुरुवाती महिनामा काठमाडौंका आन्तरिक पर्यटकलाई ‘सुरक्षित निर्देशिका’ अन्तर्गत चितवन र पोखरामा सुरक्षित अवतरण तथा यात्रा गराई पर्यटन प्रवद्र्धनका लागि उदाहरणीय कार्यको सुरुवात गर्ने बुद्ध एयरको भनाई छ । 

बुद्धले निकट भविष्यमै चीन र भारतीय पर्यटकलाई यस्तै उदाहरण देखाई ठूलो संख्यामा भित्र्याउन समेत सकिने बताएको छ । यी दुई मुलुकबाट वर्षेनी १४ करोडभन्दा बढी पर्यटक विदेश घुम्न जाने गरेका छन् ।

बुद्ध एयरले पोखरा तथा चितवनको सुरुवाती प्याकेजको न्यूनतम चार्ज समेत तय गरेको छ । जसअनुसार पोखराको २ दिने पर्यटकीय प्याकेज अन्तगृत होटल तथा उडानसहित रु. ५९९९ तोकिएको छ । यसमा रिटर्न एयर टिकेट, पोखरा एयरपोर्टबाट होटल, होटलबाट एयरपोर्ट पिकअप तथा ड्रपको सुविधा, एसी रुम र ब्रेक फास्ट समेत गर्न पाइनेछ । 

पोखरामा बुद्ध होलिडेजले बाटिका, बाराही, जलमहल, लेकसाइड रेष्टुरेन्ट र ल्याण्डमार्क होटललाई आफ्नो पार्टनर होटल छनौट गरेको छ ।

चितवनको २ दिने पर्यटकीय प्याकेजको खर्च भने केही महंगो पर्नेछ । सो क्षेत्रका लागि २ दिने प्याकेजको मूल्य रु. १३९९९ तोकिएको छ । यसमा रिटर्न एयर टिकट, भरतपुर एयरपोर्टबाट सौराहको होटल लाने र एयरपोर्टसम्म पुर्याइदिने सुविधा, एसी रुपम, फूल बोर्ड मिल, जंगल सफारी र थारुको सांस्कृति कार्यक्रममा सहभागी हुन पाउने अवसर उपलब्ध हुने बताइएको छ । 

सौराहमा यो प्याकेजमा पार्टनर होटलको रुपमा जंगल सफारी लज र ग्रीन पार्क रहेका छन् । 

नेपालमा हाल १२९ तारे होटल, २६०० ट्रेकिङ एजेन्सी, २०,००० टुर तथा ट्रेकिङ गाइड, ३२४ होमस्टे, ७२ र्याफ्टीङ एजेन्सी, ७ वटा जेट विमानसहित आन्तरिक उडान भर्दै आएका ५१ वटा जहाज सुनसान र थन्किएका छन् । 

दशवटा हेलकप्टर कम्पनीका ३३ वायुयान कामविहीन बनेका छन् । हालसम्म पर्यटन क्षेत्रबाट मात्रै २ लाख ७२ हजार बेरोजगार बन्न पुगेका छन् ।