काठमाण्डौ । अमेजनका फाउण्डर जेफ बेजोसले अर्को एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । ब्लुमबर्गको बिलेनियर्स इण्डेक्सका अनुसार गत सोमबार जेफ बेजोसको कुल सम्पत्ति(नेटवर्थ) १५० अर्ब डलर माथि पुगेको छ । जेफको नेटवर्थ माइक्रोसफ्ट कर्पका बिल गेट्सको भन्दा करिब ५५ अर्ब डलर बढी रहेको छ । गेट्स अहिले विश्वका दोश्रो धनी व्यक्ति हुन्, पहिला विश्वकै धनी  व्यक्तिको उपाधि बिल गेट्सको नाममा दर्ज थियो ।

ब्लुमबर्गका अनुसार सन् १९९९ मा गेट्सको सम्पत्ति १०० अर्ब डलरभन्दा केही बढी रहेको थियो । त्यसबेला र अहिलेको डलरको भाउमा आएको अन्तरको हिसाबले हेर्ने हो भने गेट्सको सम्पत्ति त्यसबेला १४९ अर्ब डलरको हाराहारीमा रहेको मान्न सकिने मिडिया रिपोर्टमा जनाइएको छ ।

यहीकारण अमेजनका सीइओ बेजोस सन् १९८२ पछि विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । सन् १९८२ मा फोब्र्स पत्रिकाले पहिलोपटक सम्पत्तिको आधारमा अर्बपतिहरुको सूचि सार्वजनिक गर्न सुरु गरेको हो ।

बेजोसको सम्पत्ति त्यसबेला उछालको गतिमा बढ्यो, जब ३६ घण्टाको समर सेल प्राइम डेको सुरुवात भयो । कम्पनीको सेयर प्राइस न्यूयोर्कमा बिहान ११.१० बजे १८२५.७३ डलर भन्दा माथि पुगेको थियो । यसका कारण बेजोसको सम्पत्ति १५०.८ अर्ब डलर भन्दा माथि पुगेको हो ।

सन् २०१८ मा मात्र बेजोसको सम्पत्तिमा ५२ अर्ब डलरको बढोत्तरी भएको छ । यस्तै, बेजोसको व्यक्तिगत सम्पत्ति विश्वकै सबैभन्दा धनी मानिएको वाल्टन परिवारको १५१.५ अर्ब डलरको नजिक पुगेको छ । 

उता, यदि बिल गेट्सले सबै सम्पत्ति आफ्नो नाममै राखेका थिए भने उनको सम्पत्ति पनि यतिबेला १५० अर्ब डलर भन्दा बढी भइसक्थ्यो । तर, बिल गेट्सले आफ्नो अधिकांश सम्पत्ति बिल एण्ड मिलेण्डा गेट्स फाउण्डेसनलाई दान दिएका छन् । सार्वजनिक तथ्यांक अनुसार सन् १९९६ पछि गेट्सले माइक्रोसफ्टको ७० लाख कित्ता सेयर तथा २.९ अर्ब डलर नगद तथा अन्य सम्पत्ति दान दिएका छन् । 

सन् २०१८ जुनमा प्रकाशित अर्बपतिहरुको सूचिमा बेजोस १४१.९ अर्ब डलर सम्पत्तिको साथमा विश्वकै सर्वाधिक धनी व्यक्तिको रुपमा अगाडि आएका थिए । तर, उनी सन् २०१७ अक्टोबरदेखि नै विश्वकै धनी व्यक्तिको रुपमा अगाडि आएका थिए । 

गत वर्षको अक्टोबरसम्म बेजोसको सम्पत्ति ९४ अर्ब डलरको हाराहारीमा थियो । त्यसको एकमहिनापछि नै उनले पहिलोपटक १०० अर्ब डलरमाथिको उचाई चुमे । अघिल्लो जुलाई २७ मा अमेजनको सेयर मूल्य १०५० डलर माथि पुगेको थियो, त्यसबेला बेजोसको सम्पत्ति ९० अर्ब भन्दा बढी भएको थियो ।