एजेन्सीको सहयोगमा
काठमाण्डौ । विश्वमै सर्वाधिक प्रयोग हुने गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको पाउडरका कारण अमेरिकामा अर्की महिलालाई समेत क्यान्सर भएको अदालतले पुष्टि गरेको छ । यही कुराको पुष्ट्याई भएपछि ती महिलाले हालेको मुद्धाउपर सुनुवाई गर्दै अदालतले ५७६ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिन कम्पनीको नाममा आदेश जारी गरेको छ । 

 

केही समयअघि समेत एक महिलाको जोन्सन एण्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गरेकै कारण मृत्यु भएको भन्दै तिनका आफन्तले अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धामा समेत अमेरिकाको एक अदालतले पीडितको पक्षमा फैसला गर्दै कम्पनीलाई सयौं करोडको मुआब्जा दिन आदेश दिएको थियो । 
 

छोटो समयको अन्तरालमा जोन्सन एण्ड जोन्सन कम्पनीलाई दोश्रो पटक यति ठूलो झट्का लागेको रोयटर्सले जनाएको छ । उसका अनुसार अदालतले दोश्रोपटक झट्का लाग्ने गरी यति धेरै क्षतिपूर्ति भराउन आदेश दिएपछि यसविरुद्ध आफूहरु पुनरावेदन गर्ने कम्पनीका अधिकारीहरुले बताएका छन् । 

कम्पनीले उत्पादन गरेको टेलकम पाउडर प्रयोग गरी यस्तै स्वास्थ्य समस्या भएकामध्ये १२ सय जना भन्दा बढीले अमेरिकाको विभिन्न अदालतमा यस्तो मुद्धा हालेका छन् । सयौं मुद्धा खेपिरहेको कम्पनीमाथि टेलकम पाउडरको डब्बामा यसको अधिक प्रयोगबाट क्यान्सर समेत हुनसक्छ भन्ने चेतावनीयुक्त भाषा नलेखेको सबैभन्दा धेरै आरोपहरु लागेका छन् ।

पछिल्लो समेत मिसोरी राज्य अदालतले तीन सातासम्म चलेको बहसमपछि यस्तो फैसला सुनाएको हो । अदालतका अनसार क्यान्सरपीडित महिलालाई ५० लाख डलर बराबरको क्षतिपूर्ति तथा मुआब्जा तथा ५ करोड डलर बराबरको जरीवाना बापतको रकम प्राप्त हुनेछ । 

मुद्धा जितेकी महिला रिस्टेसण्डले भनेकी छिन् कि उनी कयौं वर्षदेखि जोन्सन एण्ड जोन्सनको पाउडर तथा अन्य प्रडक्ट प्रयोग गर्दै आएकी थिइन । कम्पनीको निकै चर्चित बेबी पाउडर र सावर टु सावर पाउडर समेत आफूले लामो समयदेखि प्रयोग गर्ने गरेको उनले बताएकी छिन् । उनका वकिलका अनुसार ती महिलालाई ओवेरियन क्यान्सर भएको थियो र त्यसपछि उनले अपरेशन नै गर्नुपरेको थियो । लामो उपचारपछि उनको क्यान्सर हाल निको भइसकेको छ । 

फेब्रुअरीमा पनि यस्तै भएको थियो
मिसौरी राज्यको अदालतले गत फेब्रुअरीमा पनि यस्तै अर्को मुद्धामा एक परिवारलाई ८ सय करोड रुपैयाँ क्षतिपूर्ति दिन कम्पनीको नाममा आदेश जारी गरेको थियो । महिला ज्याकलिन फक्सले जिवित छँदै जोन्सन पाउडरको प्रयोगले आफूलाई क्यान्सर भएको दाबी गर्दै अदालतमा मुद्धा दायर गरेकी थिइन । उनको सन् २०१५ अक्टोबरमा मृत्यु भएको थियो । मृत्युपछि उनको मुद्धामाथि सुनुवाई गर्दै अदालतले त्यति धेरै रकम क्षतिपूर्तिको रुपमा पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसला सुनाएको थियो । सो बेला समेत कम्पनीका अधिकारीहरुले आफूहरुको उत्पादन सुरक्षित रहेको दाबी गरेका थिए । 

पहिला पनि लागेको थियो आरोप
सन् २००७ मा जोन्सन एण्ड जोन्सनको प्रोडक्टमा कार्सिनोजेनिक नामको हानिकारक तत्व फेला परेको थियो । पछि पत्ता लागेको थियो कि यस्तो तत्व टेलकम पाउडरलाई इथाइल अक्साइडले स्टरलाइज गरेका कारण पैदा भएको थियो । अनुसन्धानकर्ताहरुले त्यसबेलै यस्तो उत्पादनको प्रयोग छालाका लागि निकै हानिकारक रहेको निश्कर्ष निकालेका थिए । 

सन् २००९ मे महिनामा क्याम्पेन फर सेफ कस्मेटिकले जोन्सन एण्ड जोन्सनमाथि बच्चा र बयस्कको पर्सनल केयरका लागि उत्पादित प्रोडक्ट्स बनाउँदा प्रयोग हुने वस्तुको बिषयमा प्रश्न उठाएको थियो । लगातार तीन वर्षसम्म चलेको नकारात्मक अभियानबाट डराएको कम्पनीले सन् २०१२ मे मा इनग्रेडिएन्ट्स १, ४–डाइअक्साइन र फार्मेलडेहाइडलाई हटाउन तयार भएको थियो ।