काठमाण्डौ । क्यान्सरको सेल उत्पादन गर्ने खनिज फेला परेको भन्दै आवाज उठ्न थालेपछि अमेरिकास्थित बहुर्राष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीले ३३ हजार बोतल बेबी पाउडर बजारबाट फिर्ता मगाएको छ ।

स्वास्थ्य नियामकहरुले अनलाइनबाट खरिद गरिएको एउटा बोतल जोन्सन एन्ड जोन्सन बेबी पाउडर परीक्षण गर्दा एस्बेस्टोस (क्यान्सरको सेल विकास खनिज) रहेको पाइए दाबी गरेपछि कम्पनीले बेबी पाउडरको बोतलहरु बजारबाट फिर्ता मगाएको हो । बीबीसीको रिपोर्टअनुसार सरकारी अधिकारीहरुले उपभोक्ताले यो ब्याचको पाउडर प्रयोग गर्न तत्काल बन्द गर्नुपर्ने बताएका छन् । 

बच्चाहरुका लागि विभिन्न वस्तु उत्पादन गर्दै आइरहेको स्वास्थ्य क्षेत्रको चर्चित कम्पनी जोन्सन एन्ड जोन्सनका अनुसार उसले एउटा रिभ्यु गरेको छ कि पहिले गरिएको टेस्टमा एस्बेस्टोस पाइएको थिएन । कम्पनीविरुद्ध यस्ता हजारौँ मुद्दा र आरोपहरु लगाइरहेकाहरुले बेबी पाउडरमा क्यान्सर उत्पन्न गर्ने कारक तत्व रहेको दाबी गरेका छन् ।

जोन्सन एन्ड जोन्सनले यी सबै आरोपको खण्डन गर्दै आइरहेको छ । यस्तै आरोप लागेपछि कम्पनीले सन् २०१८ मा पनि अमेरिकामा उत्पादन गरी पठाइएका बेबी पाउडरको एक लटलाई परीक्षणका क्रममा फिर्ता ल्याएको थियो ।

बीबीसीको रिपार्टअनुसार फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) ले एस्बेस्टोसको मात्रा पत्ता लगाउन उक्त परीक्षण गरेको बताइएको छ । परीक्षणका क्रममा उत्पादनमै कमीकमजोरी हुनुका साथै बोतलको सिल पनि तोडिएको पाइएको थियो ।

कम्पनीको रिपोर्टअनुसार एफडीऐ स्वयंको परीक्षणसहित कैयौँ वर्षसम्म भएको परीक्षणका साथै पछिल्लो महिना गरिएको जाँचमा पनि कुनै एस्बेस्टोस पाइएको थिएन । आममानिसहरुबीच बढ्दो चिन्ताको माझ एफडीएले जोन्सन एन्ड जोन्सनका दर्जनौँ उत्पादनमा एस्बेस्टोसको परीक्षण गरिरहेको छ ।

यता एफडीएले पनि जोन्सन एन्ड जोन्सनका उत्पादनहरु नक्कली भएको वा परीक्षणको दौरान खराब पाइएको कुनै पनि संकेत नमिलेको जनाएको छ । –एजेन्सी