काठमाण्डौ । काठमाडौंको जोरपाटीमा ट्याक्सी धनीलाई लक्षित गर्दै विश्वस्तरीय सुजुकी सेवा केन्द्रको उद्घाटन गरिएको छ । 

सुजुकी ट्याक्सीका धनीहरुलाई पूर्ण सर्भिस सुविधा उपलब्ध गराई सेवाका लागि कुर्नुपर्दा तिनलाई पर्न जाने घाटा न्यूनिकरण गरी नाफा बृद्धि गराउने सोचका साथ सञ्चालित यो आफ्नो किसिमकै पहिलो सेवाकेन्द्र हो । 

अत्याधुनिक प्रविधि सुसज्जित सम्पूर्ण समस्या पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविधाहरु सेवाकेन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

साथै, तिनको सञ्चालनका लागि तालिम प्राप्त अनुभवी प्राविधिकहरुको ब्यवस्था समेत रहेको छ । केन्द्रमा सेवाप्रदायकलाई आरामदायी वेटिङ लाउन्ज, रिफ्रेशमेन्ट सुविधा र प्रशस्त पार्किङ स्पेसको ब्यवस्था समेत रहेको छ । 

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार सेवाकेन्द्रले दिनको १२ घण्टा(बिहान ७ देखि बेलुकी ७ बजेसम्म) सुविधा उपलब्ध गराउनेछ । साथै, ट्याक्सीधनीहरुका लागि कम्पनीले आवश्यक सामाग्रीमा १५ प्रतिशतसम्मको छुट पनि उपलब्ध गराएको जानकारी दिइएको छ । 

सेवाकेन्द्रको उद्घाटन एमएसआइएलका महाप्रबन्धक (सर्भिस) ए राघवन, एमएसआइएलकै कन्ट्रि म्यानेजर (सर्भिस) गुरकिरात सिं, सीजी होल्डिङ्स्का प्रबन्ध निर्देशक तथा अध्यक्ष अरुण चौधरी र सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको उपस्थितिमा गरिएको थियो । 

उद्घाटन कार्यक्रममा बोल्दै कारदेखि ट्याक्सीसम्मको बिक्रीमा देशकै अग्रणी वितरक भएको आधारमा खरिदकर्तालाई उत्कृष्ट र छरितो सेवा उपलब्ध गराई तिनको आम्दानीमा बृद्धि गराउन टेवा पुर्याउनु आफ्नो दायित्व भएको अरुण चौधरीले बताए । ‘तिनप्रति पूर्ण समर्पित सेवा उपलब्ध गराई सञ्चालन खर्चमा कटौति गदैै आम्दानीका लागि थप समय उपलब्ध गराउन यो पहल गरिएको हो।’ चौधरीले भने । 

त्यसैगरी कारमाण्डू मोटर्सको सेवाकेन्द्रका निर्देशक सुरज गिरीले ट्याक्सीधनीहरुलाई विश्वस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता स्वरुप यो पहल गरिएको बताए ।