कुकुरको बफादारीको उदाहरण त्यसै दिने गरिएको होइन।

हंगेरीमा हालै एउटा कुकुरले त्यस्तै बफादारी देखाएको छ।

त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म उनको कुकुर शवलाई कुरेर बसेको पाइएको छ।

बुडापेस्टस्थित एउटा अपार्टमेण्टमा हवानिज प्रजातिको ९ वर्षीय कुकुरलाई शवसँगै गत बुधवार फेला पारिएको हो।

जाजा नाम गरेको कुकुरलाई निकै कमजोर अवस्थामा फेला पारिएको बुडापेस्टस्थित जनावर अधिकारसम्बन्धी एक अधिकारीले बताए।

जाजाकी ६० वर्षीया मालिक्नीको प्राकृतिक मृत्यु भएको बताइएको छ।

समाचार संस्था रोयटर्सका अनुसार हप्तौँदेखि ती वृद्धालाई नदेखेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरे।

अपार्टमेण्टमा प्रहरीहरू छिर्दा कुकुर आफ्नी मालिक्नीको शवको छेउमा बसिरहेको थियो।

उद्धारकर्मीहरूका अनुसार जाजा नजिकै थोरै खाना थियो र त्यो सुकिसकेको थियो।

खाना नपाएको भए कुकुर मरिसकेको हुन्थ्यो होला।

राहत तथा उद्धारकर्मीहरूका अनुसार जाजा निकै कमजोर भइसकेको थियो र उभिन पनि सक्षम थिएन।

कुकुरको अवस्थामा अहिले केही सुधार आएको बताइएको छ।

त्यसले फेरि पुच्छर हल्लाउन थालेको उद्धार गर्ने संस्थाले जनाएको छ।

बीबीसीबाट