काठमाण्डौ । चीनका सबैभन्दा धनी व्यक्ति मानिएका ज्याक मालाई पछार्दै जोङ शानशानको उदय भएको छ । 

चीनको बोटल वाटर उद्योगका टाइकुन शानशानले अलिबाबाका संस्थापक ज्याक मालाई पछार्दै देशको सबैभन्दा धनी तथा एशियाको दोश्रो धनी व्यक्तिको रुपमा आफूलाई अगाडि ल्याएका हुन् । 

शानशानले सन् १९९६ मा नोङ फुङ स्प्रिङ नामको बोतलको पानी उद्योग स्थापना गरेका थिए । उनी खोप निर्माण गर्ने उद्योगका समेत मालिक हुन् । 

ब्लुमबर्गको बिलेनियर्स इण्डेक्सले शानशानलाई चीनको सर्वाधिक धनी व्यक्तिको रुपमा प्रस्तुत गरेको छ । शानशानको कुल सम्पत्ति बढेर ५८ अर्ब ७० करोड डलर माथि पुगेको छ । 

उनको बोतलको पानी उत्पादन गर्ने उद्योग र खोप उत्पादन गर्ने फर्म हालैमात्र सेयर बजारमा सूचीकृत भएका थिए । सेयर बजारमा कम्पनी सूचीकृत भएसँगै उनको भाग्य चम्किएको हो । 

‘लोन वुल्फ’ उपनामले समेत चिनिने शानशान एशियाका दोश्रो धनी व्यक्ति समेत बनेका छन् । पहिलो धनी व्यक्ति भारतका मुकेश अम्बानी हुन् । 
विश्वका ५०० धनाढ्यको सूचीमा शानशान १७ औं स्थानमा उक्लिएका छन् । 

पछिल्लो समय चीनका नवधनाढ्यहरु टेक कम्पनीका संस्थापकहरु रहने गरेका छन् । तर, अमेरिकासँगको हुवावे, टिकटक र वीच्याट जस्ता कम्पनीको विषयलाई लिएर बढेको तनावका कारण यसको नकारात्मक असर टेक कम्पनीका सेयरमूल्यमा परेको छ, जसले धेरै धनाढ्यलाई पछाडि पारेको छ । 

हाल चीनको फूड तथा ग्रोसरी कम्पनीका संस्थापकहरु टेक कम्पनीका संस्थापकहरुभन्दा अगाडि बढिरहेका छन् । 

अप्रीलमा सानसानको वेइजिङ वान्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइजेज नामको कम्पनी चीनको स्टक मार्केटमा सूचीकृत भएको थियो । यो कम्पनीमा रहेको शानशानको सेयरको मूल्य बढेर अगस्टसम्म आउँदा उनको कुल सम्पत्तिमै २० अर्ब डलरको बढोत्तरी भएको देखिन्छ । 

यो फर्मा कम्पनीले २ विश्वविद्यालयसँग मिलेर कोभिड १९ विरुद्धको खोप समेत विकास गरिरहेको छ। 

यसैगरी, नोङ फुङ स्प्रिङ कम्पनीको सेयरमूल्य सेप्टेम्बर महिनाको सुरुवातमा हङकङ स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो । पहिलो दिन नै सो कम्पनीको सेयरमूल्य ५४ प्रतिशतले बढ्यो, यसले समेत शानशानलाई सर्वाधिक धनी बन्ने दौडमा सहयोग भयो । 

रातो बिर्को भएको नोङ फुङ स्प्रिङ नामको बोतलको पानी चीनका साना होटलदेखि फाइभ स्टार होटलसम्म बिक्री गर्ने गर्छ । यो कम्पनीले चिया, भिटामिन ड्रिक्ङ्स र जूसहरु समेत उत्पादन गर्ने गर्छ । 

समाचारमा जनाइएअनुसार विगत ६ वर्षदेखि निरन्तर चीनको सर्वाधिक धनीको ताज पहिरिरहेका ज्याक माभन्दा अगाडि बढे पनि शानशानको यो स्थान धेरै दिन भने टिक्ने छैन । किनभने टेक कम्पनीहरुको सेयरमूल्यमा केही दिनदेखि आएको भारी गिरावटले मात्र यस्तो नतिजा आएको हो ।