काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडका सेयरधनीले १० प्रतिशतका दरले बोनस सेयर पाउने भएका छन् ।
 
आइतबार काठमाण्डौमा सम्पन्न यो बैंकको १० औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयरलाई पारित गरेको हो । 
 
यो प्रस्ताव पारित भएसँगै अब ज्योति विकास बैंकका सेयरधनीहरुले २२ करोड ८ लाख ६३ हजार ४ सय २० रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन् । 
 
तत्कालीन राप्तिभेरी बिकास बैंक लिमीटेडका शेयरधनीहरुलाई गत आ.व. २०७३÷७४ को नाफाबाट तत्कालीन राप्तिभेरी विकास बैंकको संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीको ६ प्रतिशतका दरले हुुने ९४ लाख २३ हजार ७ सय २३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गरेको छ ।
 
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार विकास बैंकको प्रवन्धपत्र नियमावलीमा संशोधन गरिनेछ । विशेष प्रस्ताव बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्वि गर्न विकास बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको छ ।
 
प्रस्तुत भएको प्रतिवेदनउपर विभिन्न शेयरधनीहरुले टिप्पणी गरेकामा अध्यक्ष हरिचन्द्र खड्का तथा नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उत्तर दिएका थिए ।
 
साधारणसभाले बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएको निश्कर्ष निकालेको छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।