काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी ज्योति विकास बैंकलाई पनि आबद्ध गराएको छ । 

कम्पनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्नसक्ने प्रष्ट पारेको हो ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले डब्लू डब्लू डट कनेन्टआइपीएस डट कममा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिलभुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन् । 

यस्ता सबै कारोबारहरु अनलाईनमार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुने बताइएको छ । 

हाल यो प्रणालीमार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ र  छिटै अन्य सेवाहरु समेत थपगर्न सकिने गरी काम भइरहेको कम्पनीले जनाएको छ । 

हाल यो प्रणालीमा ३२ बैंक तथा बित्तीय संस्थाहरु आबद्ध छन् । तर, २३ संस्थाले मात्र सेवा उपलब्ध गराइरहेका छन् ।