काठमाण्डौ । ज्योति विकास बैंक देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको विकास बैंक बनेको छ । 

बैंकको असोज २९ गते काठमाण्डौमा सम्पन्न साधारणसभाले एक जिल्ले हाम्रो विकास बैंकलाई प्राप्तिको स्वीकृति दिएसँगै बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १० करोड पुगेको हो । यो भनेको देशका विकास बैंकहरुमध्ये सर्वाधिक पूँजी हो । 

साधारणसभाले १ बराबर १ को सेयर स्वाप अनुपातमा हाम्रो विकास बैंकलाई गाभ्ने स्वीकृति प्रदान गरेको बताइएको छ । 

सोही सभाले ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीकोे ८.४० प्रतिशतको दरले हुने २१ करोड ८० लाख ६२ हजार ७ सय ५३ रुपैयाँ नगद लाभांश वितरणको स्वीकृति समेत प्रदान गरेको छ । 

सभामा प्रस्तुत भएको प्रतिवेदनउपर विभिन्न शेयरधनीहरुले टिप्पणी गरेका थिए भने  संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुखकार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सेयरधनीको जिज्ञासा मेट्ने काम गरेका थिए ।

हाल यो बैंकले देशभर ७२ वटा शाखाहरु, २२ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ । गत  आर्थिक वर्षमा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्ब ५४ करोड निक्षेप संकलन गर्न र १०हजारभन्दा बढी ऋणीमार्फत १६ अर्ब १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।