काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबारदेखि ‘ज्योति केयर्स’ योजना औपचारिक रुपमा शुभारम्भ गरेको छ । 

जीवन बिमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवामा केन्द्रित योजना सञ्चालन गर्ने क्रममा कम्पनीले यो योजनाको शुभारम्भ गरेको हो। काठमाण्डौको ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले यो योजनाको औचापरिक शुभारम्भ गरे । 

कार्यक्रममा ज्योति कियर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्डवाहकले पाउने सेवासुविधा र हालसम्म ज्योति कियर्सका माध्यमबाट सुविधा प्रदान गर्न कम्पनीले सम्झौता गरेका सेवा प्रदायक साझेदार संस्थाहरुका बारेमा विस्तृत जानकारी गराइएको थियो । 

कम्पनीकी अध्यक्ष शर्माले यो कम्पनीले आफ्नो व्यवसाय शुभारम्भ गरेदेखि नै घातक रोग उपचार सुविधालगायत नयाँ–नयाँ विशेष भएका बिमा योजना जारी गरेको र ग्राहक सेवाका लागि थप कार्यहरु गर्ने क्रममा ज्योति कियर्स योजनाका माध्यमबाट बीमितहरुलाई अतिरिक्त सुविधान प्रदान गर्ने कार्यको सुरुआत भएको बताए । उनले आगामी दिनमा नयाँ–नयाँ योजनामार्फत बीमितहरुलाई सेवा दिइने प्रतिबद्धता पनि गरे । 

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले यो कम्पनी सञ्चालनमा आएको दुई वर्षभन्दा कम अवधिमा कम्पनीप्रति जनमानसबाट प्राप्त विश्वास तथा सहयोगका कारणले बीमा क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल भएकोले ग्राहक सेवालाई प्राथमिकतामा राखेर उदाहरणस्वरुप ज्योति कियर्स योजना एउटा सुरुआत भएको बताए । उनले यसै योजनाको माध्यमबाट भविष्यमा थप सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।