काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ। 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.७६ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १७ करोड ४ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको ६ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड ९३ लाख रुपैयाँ रहेको छ। 

दोस्रो त्रैमाससम्म बैंकले ४० करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा २४ करोड ३५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकले ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४६ करोड ६६ रुपैयाँ रहेको थियो। यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ। 

चालु वर्षको ६ महिनामा बैंकले २९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म २५ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

दोस्रो त्रैमाससम्म बैंकले रिजर्भको आकार ९.९६ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिसम्म ५० करोड ५० लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिसम्म ५५ करोड ५४ लाख रुपैयाँ पुगेको छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.०७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने १०.०२ गुणा रहेको छ।