काठमाण्डौ । आइतबारदेखि विधिवत रुपमा कारोबार सुरु गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले निकट भविष्यमा सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । 

कम्पनीको औपचारिक सुरुवातको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । 

कम्पनीमा ४२ जना प्रबद्र्धक रहेका छन् । कम्पनीको अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २ अर्ब २० करोड रहेको छ ।  हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको छ । सर्वसाधारणमा समेत सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोडको उचाईमा पुुग्नेछ । 

यो कम्पनीले असार २० गते बिमा समितिबाट इजाजत पाएको यो कम्पनीले कारोबार संचालनको अनुमति भने भदौ १९ गते पाएको हो । 

कम्पनीका एक अधिकारी अनुसार सुरुवातदेखि नै मुख्य कार्यालयको साथमा विभिन्न क्षेत्रमा १० शाखा कार्यालय बिस्तार भइसकेको छ । हाल ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक, र सुर्य्विनायकतथाउपत्यकाबाहिर नारायणगढ, विरगंज, पोखरा र चन्द्रनिगाहपुरमा कम्पनीको शाखा रहेको छ । कम्पनीले जीवन बिमा व्यवसायको दायरा फराकिलो पार्दै नेपालभर सेवा केन्द्र विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ । 

यो कम्पनीले सुरुवातबाटै  ३ वटा जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ भने केहि दिनमा नै थप २ वटा बिमा योजना सञ्चालनमा ल्याइने बताइएको छ । 

कम्पनीको अध्यक्षमा पशुपति मुरारका, सञ्चालकमा नन्दकिशोार शर्मा, आकाश गोल्छा र शर्मिला महर्जन रहेका छन् । कम्पनीको प्रकाश विक्रम खत्री कार्यकारी उप–प्रमुखको रुपमा रहेका छन् । बार्कलेज् बैंक, युकेबाट करियर सुरु गरेका खत्रीसँग विभिन्न बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।