काठमाण्डौ । धेरै लगानीकर्ता चुनावी चटारोमा रहँदा समेत मंगलबार बजारमा सुधार भएको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार झिनो अंकले घटेको छ भने कारोबार रकम भने बढेको छ। बजार परिसूचक झिनो अंकले घट्नुु र कारोबार रकममा साढे ३ करोडको बढोत्तरी हुनुले बजारमा खरीद चाप बढेको बुुझ्न सकिन्छ । निर्वाचनको बेला समेत बजारमा खरीद चाप बढ्नुले निर्वाचनपछिको बजारको अवस्था निकै मजबुत बन्नसक्ने आँकलन समेत गर्न सकिन्छ । 

मंगलबार नेप्से परिसूचक १.९ अंकले घट्यो भने कारोबार रकम बढेर ५७ करोड ७७ लाखको उचाईमा पुुगेको छ । 

यो दिन ४ समूहको सूचक बढेको छ भने ६ समूहको सूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स समूह ६.६१ अंकले बढेको छ भने बिमा समूह २७.४, उत्पादनमूलक ३.२२ र ट्रेडिङ समूह ०.०९ अंकले बढेका छन् । 

यस्तै, बैकिङ समूह २.९ अंकले घटेको छ भने होटल समूहमा १७.५७, विकास बैंक समूहमा २.८६ अंक, जलविद्युत समूहमा १३.७३, बित्त समूहमा १.३९ र अन्य समूहमा २.८९ अंकको गिरावट देखियो । 

बजारमा ‘क’ वर्गका कम्पनीको कारोबारमा केही संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स ०.७१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका १० लाख ८२ हजार ३ सय ८ कित्ता सेयर ५७ करोड ७७ लाख ६४ हजार ४ सय २६ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी बुटवल पावर कम्पनीले १० करोड बढीको कारोबार गर्यो । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको ६ करोड १७ लाख बढीको सेयर कारोबार भएको बजारमा शिखर इन्स्योरेन्सले ३ करोड ९८ लाख, नेपाल बैंकले १ करोड ८७ लाख, जनता बैंक नेपालले १ करोड ५० लाख, सिटिजन्स बैंकले १ करोड ३६ लाख, एभरेष्ट बैंकले १ करोड २९ लाख, सानिमा बैंकले १ करोड २८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ५.२० प्रतिशतले वृद्धि भयो । गुड्विल फाइनान्सको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन रिलायन्स फाइनान्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ४.४३ प्रतिशतले घट्यो । यस्तै, सिन्धुु विकास बैंकको मूल्य ४.३२ र जेबिल्स फाइनान्सको मूल्यमा ४.२८ प्रतिशतको गिरावट आयो ।