कठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओमा आवेदनका लागि अन्तिम दिन असार ५ गते(भोलि) हो । असार १ देखि खुलेको यो आइपीओमा २ गतेसम्मको तथ्यांक हेर्दा अचाक्ली आवेदन परेको देखिन्छ । कम्पनीको आधारभूत अवस्था निकै कमजोर हुँदा हुँदै पनि हिमालयन पावरको आइपीओमा लगानीकर्ता किन सती जाँदैछन् होला ? विश्लेषक तथा विज्ञहरु समेत तीनछक्क छन् ।

यो कम्पनीको २१ करोड ३० लाख मूल्यको आइपीओमा दोश्रो दिनसम्म १ अर्ब ५० करोड बढीको आवेदन परिसकेको छ । देशभरबाट ३४ हजार ३ सय १७ वटा आवेदन परेका छन् ।

कुल निश्कासित २१ लाख ३० हजार कित्ता आइपीओमध्ये सर्वसाधारणका लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता छुट्याइएको छ । कम्पनीले ४२ हजार ६ सय १७ कित्ता आफ्ना कर्मचारीका लागि र १ लाख ६ हजार ५ सय ४२ कित्ता सेयर १० वटा म्युचुअल फण्डहरुका लागि छुट्याएको छ ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ, यसको अर्थ कम्पनीका आधारभूत अवस्था सन्तोषजनक छैन भन्ने हो । तर, आधारभूत अवस्था खराब रहेको यही कम्पनीको आइपीओमा लगानीकर्ता भने मरिहत्ते गरेर आवेदन भरिरहेका छन् । किन होला ?

एक विश्लेषकको भनाईमा दोश्रो बजारमा तत्काल लगानीकर्ता खासै फाइदा हुन नदेखेको र दीर्घकालीन लगानीमा राम्रो हुने आशामा समेत यो जलविद्युत कम्पनीको आइपीओमा अचाक्ली आवेदन परेको देखिएको छ ।

‘तर, धेरै भने कम्पनीको अवस्था नै नब’झी हो हो रेको भरमा दौडेका देखिन्छ ।’ ती विश्लेषकले भने–‘यस्तो कम्पनीमा कुरै नबुझी आइपीओ भर्दा लगानी डूब्न पनि सक्छ, किनकि सबै आइपीओले राम्रै रिटर्न दिन्छ भन्ने कुनै ग्यारेण्टी हुन्न ।’

एकसय रुपैयाँ प्रति कित्ताको दरले सेयर पाइने र धितोपत्र निश्कासन सम्बन्धी नयाँ निर्देशिका अनुसार बाँडफाँड हुने भएकोले पहिला भन्दा अहिले संस्थागत लगानीकर्ताको दबदबा नहुने र सेयर पर्ने संभावना बढी रहेकाले समेत कतिपय आइपीओ भर्न लालायित भएका देखिएको छ ।

यो कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ग्लोलब आइएमई क्यापिटल लिमीटेडले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, काठमाण्डौ क्यापिटल, ग्लोबल आइएमई बैंकका शाखा तथा आस्वा सेवा संचालनको अनुमित पाएका बैंक तथा बित्तीय संस्थाहरुको जुनसुकै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको चुक्तापुँजी ८५ करोड २३ लाख रुपैयाँ रहेको छ । आइपीओपछि १ अर्ब ६ करोडको उचाईमा पुग्नेछ । यो कम्पनीको अधिकृत पुँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

आइपीओपछि कम्पनीमा संस्थापक आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणहरुको सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ ।

हिमालयन पावर पार्टनर लिमीटेडले लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।