काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड फोरको रेटिङ प्रदान गरेको झूर कम्पनी हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म ७३ हजार बढी लगानीकर्ता फसिसकेका छन् ।

आधारभूत अवस्था निकै कमजोर रहेको यो कम्पनीको आइपीओमा कुरै नबुझी लगानीकर्ताहरुले पैसा ओइर्याएका हुन् । सोमबार आवेदन दिने अन्तिम दिन थियो । आइतबार अर्थात तेश्रो दिनसम्म देशभरबाट ७३ हजार ८ सय १७ आवेदकले ३ अर्ब ७९ करोड बराबरको प्रस्ताव पेश गरेका हुन् ।

यो कम्पनीले असार १ गतेदेखि २१ करोड ३० लाख मूल्य बराबरको आइपीओमा आवेदन मागेको थियो ।

तेश्रो दिन मात्र यो कम्पनीको आइपीओमा आस्वामार्फत १ अर्ब ८१ करोड र पुरातन माध्यमबाट ४७ करोड ८४ लाख बराबरको आवेदन परेको थियो ।
कुल निश्कासित २१ लाख ३० हजार कित्ता आइपीओमध्ये सर्वसाधारणका लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता छुट्याइएको छ । कम्पनीले ४२ हजार ६ सय १७ कित्ता आफ्ना कर्मचारीका लागि र १ लाख ६ हजार ५ सय ४२ कित्ता सेयर १० वटा म्युचुअल फण्डहरुका लागि छुट्याएको छ ।
एक विश्लेषकको भनाईमा दोश्रो बजारमा तत्काल लगानीकर्ता खासै फाइदा हुन नदेखेको र दीर्घकालीन लगानीमा राम्रो हुने आशामा समेत यो जलविद्युत कम्पनीको आइपीओमा अचाक्ली आवेदन परेको देखिएको छ ।

‘तर, धेरै भने कम्पनीको अवस्था नै नब’झी हो हो रेको भरमा दौडेका देखिन्छ ।’ ती विश्लेषकले भने–‘यस्तो कम्पनीमा कुरै नबुझी आइपीओ भर्दा लगानी डूब्न पनि सक्छ, किनकि सबै आइपीओले राम्रै रिटर्न दिन्छ भन्ने कुनै ग्यारेण्टी हुन्न ।’ जलविद्युत कम्पनीको सेयरमा अहिले हतारिएर जति पैसा लगाए पनि त्यसले रिटर्न दिन केही वर्ष समय लाग्ने र तत्काल ठूलो रिटर्न पाउने संभावना समेत निकै न्यून हुन्छ ।

एकसय रुपैयाँ प्रति कित्ताको दरले सेयर पाइने र धितोपत्र निश्कासन सम्बन्धी नयाँ निर्देशिका अनुसार बाँडफाँड हुने भएकोले पहिला भन्दा अहिले संस्थागत लगानीकर्ताको दबदबा नहुने र सेयर पर्ने संभावना बढी रहेकाले समेत कतिपय आइपीओ भर्न लालायित भएका देखिएको विश्लेषकहरुको तर्क छ ।

यो कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो । ग्लोलब आइएमई क्यापिटल लिमीटेडले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको छ ।

यो कम्पनीको चुक्तापुँजी ८५ करोड २३ लाख रुपैयाँ रहेको छ । आइपीओपछि १ अर्ब ६ करोडको उचाईमा पुग्नेछ । यो कम्पनीको अधिकृत पुँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

आइपीओपछि कम्पनीमा संस्थापक आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणहरुको सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ ।

हिमालयन पावर पार्टनर लिमीटेडले लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।