काठमाण्डौ । लामो समयसम्म स्थिर भई १४०० आसपासमै घुमिरहेको बजारलाई टर्नओभर(कारोबार)ले साथ बढाउँदै लगेको देखिएको छ । अघिल्लो साता बजार बन्द भएको दिनदेखि नै कारोबार रकमले बढाएको साथ यो साताको पहिलो कारोबार दिन आइतबार अझ बलियो बनेको छ । यो दिन निकै लामो समयपछि कारोबार रकम ४५ करोड माथिको उचाईमा पुगेको हो । 

नेप्से परिसूचक भने १.०१ को झिनो अंकले मात्र घटेको छ । कारोबार रकमले बढाएको साथको तुलनामा नेप्से परिसूचकतर्फको गिरावट अत्यन्त सामान्य हो । त्यसकारण बजारले आगामी दिनमा उकालो यात्रा हिँड्ने संकेत गरेको रुपमा यसलाई बुझ्दा हुने जानकार बताउँछन् । कारोबार रकम नबढी बजार बढ्ने संभावना हुँदैन, जुन संभावना अब यथार्थमा परिणत हुनसक्ने प्रशस्त आधारहरु देखिएका छन् ।

यो दिन बैकिङ समूह २.०४, विकास बैंक समूह ४.६५ र अन्य समूह ०.६४ अंकले बढेका छन् । बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ । बिमा समूह ३५.९८ अंक, बित्त समूह ५.५६, माइक्रोफाइनान्स समूह ३.४३, होटल समूह ३२.८२, जलविद्युत समूह १४.५९, उत्पादनमूलक १५.७९ र व्यापार समूह ०.८४ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले घटेको छ भने समग्र कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.०५ अंकले घट्न पुग्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ११ लाख ४१ हजार १ सय ५ कित्ता सेयर ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुपैयाँमा किनबेच भयो । 

यो दिन नेपाल बैंक लिमीटेडले सबैभन्दा बढी ७ करोड १९ लाख बढीको सेयर कारोबार भयो । यस्तै, कुमारी बैंकले २ करोड ९७ लाख, नवील बैंकले २ करोड १७ लाख, सानिमा माई हाइडोपावरले २ करोड १५ लाख, सिद्धार्थ बैंकले १ करोड ७१ लख बढी कारोबार गरे । यस्तै, बुटवल पावर कम्पनीको १ करोड ७० लाख, एनएमबी बैंकले १ करोड ६० लाख, सानिमा बैंकले १ करोड ५४ लाख, नागरिक लगानीकोषले १ करोड २४ लाख र नेपाल टेलिकमले १ करोड २१ लाख बढीको सेयर किनबेच भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनले सबैभन्दा बढी कमायो । यो कम्पनीको सेयर मूल्य ५.६६ प्रतिशतले वृद्धि भयो । यस्तै, समता माइक्रोफाइनान्सको सेयर मूल्य पनि ५ प्रतिशतको हाराहारीमा बढ्यो । 

यस्तै, जानकी फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.४८ प्रतिशतले घट्यो । यस्तै, बुटवल पावरको मूल्यमा समेत ५.०७ अंकको गिरावट आयो ।