काठमाण्डौ । कामना सेवा विकास बैंक टाइप मिस्टेकका कारण अप्ठ्यारोमा परेको छ । 

यो बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ का लागि ९.५० प्रतिशत लाभांश वितरणको निर्णय चैत २५ गतेको संचालक समितिबाट गरेको थियो । 

तर, यो सूचना नेप्सेमा पठाउँदा भने चैत २४ गतेको संचालक समितिको बैठकबाट लाभांश सम्बन्धी निर्णय भएको भनी सूचना सम्प्रेषण भएका कारण बैंक आपतमा परेको हो । 

नेप्सेले यो बैंकको सेयर कारोबार मंगलबार केही घण्टा निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिंदै बैंकले चैत २५ गते हुनुपर्नेमा टाइप मिस्टेकले २४ गते हुन गएको भन्ने जवाफ दिएको छ । 

नेप्सेले एक सूचना प्रकाशित गरी बैंकले गरेको दाबी अन्य तथ्यबाट समेत पुष्टि भएको भन्दै निलम्बित कारोबार फुकुवा भएको प्रष्ट पारेको छ । 

करिब एकवर्षअघि समेत टाइप मिस्टेक प्रकरणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकलाई निकै ठूलै आपत परेको थियो ।