-प्रकाश बञ्जारा
यूएई । समयले व्यक्तिलाई रुवाउँछ, हसाउँछ, टुक्राउँछ, जोड्छ र साहस लिएर हिँड्न सिकाउँछ । कसैको जिन्दगीमा समय सारथी बनेर आउँछ त कसैको जीवनमा दुश्मन । त्यस्तै दुश्मन बनेर समय देखा पर्यो तत्कालीन फाक्टाङ्ग गाविस तथा हालको बराहापोखरी गाउँपालिकाको घोरिङ्गखामा जन्मे हुर्केका दिपक राईलाई । 

झट्ट हेर्दा उनी अल्लारे ठिटो जस्तै देखिन्छन्, तर उमेरले विस्तारै डाँडा काट्दैछ र झनै व्यवहारिक र परिपक्व हुन सिकाउँदैछ । बालखै उमेरमा बाबुको मायाबाट बञ्चित भएपछि आमा र दिदीहरुको साहारामा हुर्केका दिपक राईको नामै संघर्षसँगै जोडिदिए पुग्छ । नकारात्मक दिशामा दौडिरहेको समाजले दिपकलाई केही नयाँ र मानसम्मान तथा इज्जत दिने कुरा त परै छाडौं, एक नागरिकले पाउनुपर्ने आचरण समेत सिकाएन । अनि त्यही नकारात्मक आचरण र सोंच एक समय निकै बिग्रेको मान्छे हुन् उनी । उनलाई समाजले फटाहाको पगरी समेत भिराइदियो कुनै बेला ।

तर, आज समय फेरियो, अल्लारे उमेर १७/१८ बर्षसम्म एसएलसीसम्मको पढाईपछि गाउँ छोडेर उच्च शिक्षाका लागि काठमाण्डौतिर छिरेसँगै गलत आचरण र नकारात्मक सोंच भएको समाजलाई त्यागे र परिश्रमी र एक असर नागरिक बन्न पुगे, साथै आज उनको परिचय समेत फेरियो उनी एक सफल नागरिक, इमान्दार र लगनशील दिपकको रुपमा परिचित भएका छन् । 

हो उनै दिपकको संघर्ष र सफलताको कथालाई हामीले बिजशालामा समेट्ने कोशिस गरेका छौं । 

२०५० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न काठमाण्डौ छिरेका रहेछन् दिपक राई । परिवारको कमजोर आर्थिक अवस्था र समाजमा बाबु बितेपछि बढेको असहयोगी भावनाको निकै ठूलो सामना गरेका यी युवा हाल अन्तराष्ट्रिय रुपमै राम्रो र चलेको कम्पनी नेस्ट्लेमा प्लानर अर्थात योजना अधिकारीको रुपमा कार्यरत छन् । 

औपचारिक रुपमा स्नातकसम्मको शिक्षा लिएका राई आफ्नो पढाईखर्च जुटाउन एसएलसी उत्तीर्ण गरेसँगै रोजगारी गर्नतिर लागेका रहेछन् ।

काठमाण्डौको न्यूरोडमा रहेको एक पसलमा सेल्सको काम गर्दै कलेजमा उच्च शिक्षा लिएका उनी कुनै समय आफ्नै व्यावसाय गर्न भनेर पनि लागिपरेका रहेछन् । काठमाण्डौमा झण्डै ४ वर्षको व्यवसायिक अनुभव पनि राईले हामीसँगको बसाईमा साट्न भ्याए । 

उनको व्यवसायी बन्ने सोचमा उनले काम गर्ने पसलको साहुले पनि उनलाई सहयोग गरेको राईलाई अझै सम्झना छ । कुनै समय उनको व्यापार राम्रै पनि चलेको रहेछ, व्यापारमा देखासिखि र उच्च महत्वकाँक्षा कहिल्यै राख्नु हुँदैन, अर्काले जे गरेको छ त्यो भन्दा फरक गर्नु पर्छ भन्ने भावना राख्ने राईले साथीसँगको साझेदारीमा अर्को पसल पनि गर्ने हुँदा असफल भएर दुवै पसल छोड्नुपर्ने अवस्थामा पुगेका रहेछन् । राजधानीको कठीन बसाईमा होस या त दुवईको बसाईमा होस् उनलाई साथ दिने साथी भक्त राईलाई उनी सधैं सम्झन्छन् ।

चल्दै गरेको पसलबाट विदा लिनुपर्दा होस् या त सबैको साथ नपाउँदा उनी कहिल्यै विचलित भएनन्, बरु त्यसैबेला उनले दुवईको अलसाया कम्पनीमा वायर हाउस असिस्टेन्ट पदका लागि आफ्नो भाग्य परीक्षा दिने मौका पाए र सफल समेत भए । केही चिनजानका साथीसहित फ्रि भिषामा उनी सन् २००६ मा दुवई आउन सफल भएछन् । कति साथीलाई दुवईको बारेमा जानकारी भइसकेको रहेछ भने कतिलाई पूर्ण ज्ञान रहेनछ ।

पहिलेबाटै संयुक्त अरब ईमिरेट्समा आउने कामदारको फाईदाको पक्ष भनेको आफ्नो ज्ञान र सिप अनुसार कम्पनी परिवर्तन गरेर राम्रो पदसम्म पुग्न सकिन्थ्यो, त्यही नियम लागू भयो दिपकका लागि पनि । 

आजभन्दा झण्डै १२ बर्ष पहिला पनि २५ सय दिराम मासिक तलवमा काम गर्ने दिपक त्यो भन्दा राम्रो तलव सुविधाको काम कसरी पाउने भनेर खोजीमा लागेछन् । सामान्यतया कम्प्युटर र ईन्टरनेटको ज्ञान भएको हुनाले अवसर खोज्न र आवेदन दिन उनलाई कठिनाई भएन । यही क्रममा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात किट्क्याट चकलेटका साथै बालबच्चाका लागि पोषणयुक्त खानाहरु निडो मिल्क, सेरेलेक, नान्, म्यागी लगायतका उत्पादनमा लोकप्रिय कम्पनी नेस्ट्लेमा स्टक कन्ट्रोलरको रुपमा काम पाएछन् सन् २००८ मा, त्यो पनि झण्डै तेब्बर तलव सुविधामा । 

दिपककै भाषामा भन्ने हो भने उनले हाल काम गरिरहेको कम्पनीमा थुप्रै सिक्ने र खारिने मौका पाएछन् । स्टक कन्ट्रोलरको काम सामान्यतया स्टोरमा भएको सामानको विवरण राख्ने, बाहिरबाट आएको सामानको लगत राख्ने र कति सामान स्टकमा छ, कति बाहिर गयो लगायतका विवरण कम्पनीको व्यवस्थापनले मागेको समयमा तुरुन्त उपलब्ध गराउनु नै हुन्छ । 

लामो समय एकै प्रकृतिको काम गरेपछि राईले स्टक सम्बन्धी नै कम्पनीको इरानमा रहेको कार्यालयका कर्मचारीलाई तालिम दिन जाने अवसर पाएछन् । आफूले प्रयोग गरिरहेको सफ्टवेयरको राम्रो जानकारी भएको हुनाले आफ्नो काममा पोख्त भएका राईलाई त्यो पदबाट माथिल्लो तहमा जाने अवसर मिलेको रहेछ र बढुवा भएछन् प्रोकुमेन्ट बिभाग अन्तर्गत खरिदकर्ताको पदमा । अंग्रेजी भाषामा त्यो पदलाई बायर भनिन्छ । 

हरेक कम्पनीले आफ्नो खरिद तथा बिक्री सम्बन्धीको काम गराउन लेखा भन्दा छुट्टै बायर भन्ने पद खडा गरेका हुन्छन् । जसको मुख्य काम कम्पनीको हरेक  खरिदको कामलाई नजिकबाट नियाल्नुका साथै कुन सामान खरिद गर्दा कम्पनीलाई फाइदा हुन्छ भन्ने निक्र्यौल निकालेर उपयुक्त सुझाव दिनु नै हो । ठूला कम्पनीहरुलाई कामदारको तालिमको लागि लाखौं रुपैयाँ  खर्च गर्छन्, जसले कम्पनीको अवस्थालाई झनै बलियो बनाएर लान मद्धत पुर्याउँछ । दिपकको हकमा पनि त्यो कुरा लागू हुन्छ । उनले पनि कम्पनीबाट थुप्रै तालिममा सहभागी हुने मौका पाएका छन् । 

उनका अनुसार हरेक कम्पनीले कर्मचारी छनौट गर्दा दश प्रतिशत शिक्षा, २० प्रतिशत तालिम र ७० प्रतिशत लगनशीलतालाई हेर्छन । उनले सिकेको पनि यहि हो । उनको भनाईमा कम्युनिकेशन, लिडरसिप र कन्भिन्स पावर एक सफल व्यक्तिमा नभई नहुने तत्व हुन् । एउटा सुपरियरले आफूभन्दा तल्लो तहको कर्मचारीलाई कसरी काममा लगाउने, उसलाई कसरी काममा लगनशील बनाउने भन्ने कुरा जान्न एकदमै जरुरी हुन्छ । हकारेर, थर्काएर कहिल्यै पनि कसैबाट काम लिनुहुँदैन । आफूले काम लिनुपर्ने व्यक्तिको आत्मसम्मानलाई पनि त्यत्तिकै संवेदनशील रुपमा हेर्नुपर्ने हुन्छ, जो अन्तराष्ट्रिय मापदण्डलाई आत्मसाथ गर्ने कम्पनीहरुले गर्ने गर्छन् । 

दिपकले आजको अवस्थासम्म आइपुग्दा आफ्नो जागिरे जीवनमा कहिल्यै पछाडि फर्किएर हेर्नु परेको छैन । जागिरे जीवन सुरु गरेदेखि आफ्नो इमानदारिता, लगनशीलता र काम प्रतिको लगावले एक सफल व्यक्तिकै रुपमा चिनिएका छन् । 

आफूलाई अझ सफल भनेर चिनाउन समाजलाई केही दिनुपर्र्ने उनको बुझाई छ । “म जुन समाजमा हुर्किएँ, त्यो समाज अहिलेसम्म पनि उस्तै छ। केही मात्रामा परिवर्तन भए पनि त्यहाँको नकारात्मक सोंच अझै हटेको छैन । जबसम्म म त्यो समाज परिवर्तनको हिस्सा बन्न सक्दिँन म आफूलाई कसरी सफल महशुस गरौं ?” प्रश्न थियो ।  उनको इमानदारिता र देशप्रतिको मायाको अर्को पक्ष त के छ भने उनलाई कम्पनीले पारिवारिक भिषा प्रदान गर्छ, बालबच्चाको पढाईको खर्च समेत कम्पनीले बेहोर्छ तर आफ्नो देशप्रतिको जिम्मेवारी बहन गर्न उनले आफ्नो बच्चालाई नेपालमै शिक्षा दिँदै छन् । जब कि नेपालमा शिक्षा दिएको खर्च उनलाई कम्पनीले बेहोर्दैन, आफैंले खर्चिनुपर्छ । 

किन त्यसो त ? भन्ने प्रश्नमा उनी भन्छन्, “नेपालमा पनि अहिले अन्तराष्ट्रिय स्तरका विद्यालयहरु छन्, त्यहाँको पढाई यहाँका विद्यालयको भन्दा राम्रो छ । भलै हाम्रो देशमा व्यवहारिक शिक्षा छैन, तर यहाँको भन्दा राम्रो गुणस्तरको शिक्षा नेपालमै पाईन्छ ।”

झण्डै ३ घण्टाको बसाईको क्रममा हामीले राईलाई देश विकास नहुनुको कारण के होला भनेर पनि सोध्यौं । प्रश्नमा उनले कर्मचारीले देखाउने इमानदारितालाई इंगित गरे र भने–‘जनप्रतिनिधिले समेत स्थानीय निकायको आवश्यकतालाई मध्यनजर नगरी जथाभावी बजेटको दुरुपयोग गर्नु हुँदैन । यस्तै प्रवृतिका कारण हाम्रो देशमा अपेक्षित विकास हुन नसकेको हो ।’

राईको बुझाईमा आजका युवापिढीले २५/३० हजारको तलवमा लेवरको भिषामा विदेश यात्रामा आउनुभन्दा पनि देशमै बसेर कृषि पेशा अँगाल्न र नगदेबालीमा लाग्न आवश्यक छ । देश कृषिप्रधान भएता पनि हाम्रो आफ्नै कारणले कृषिमा नहोमिँदा बालुवामा हरियाली बनेको, तर हरियाली खण्डहर हुँदै गइरहेको संवेदनशील कुरा राई बताए । युवापिढीलाई सुझाव दिंदै राई भन्छन्–‘सबैले विदेश आएर राम्रै कमाउन सक्छन् भन्ने छैन । समय र परिस्थिति अनुसार चल्नुपर्छ, आफ्नै ठाउँमा बसेर तालिम लिएर कृषि व्यवसायमा लागौं । हाम्रो ठाउँ हामीले बनाउने हो, आफ्नै ठाउँमा बसौं, आफ्नो ठाउँमै केही गरौं ।’

अरुलाई कृषिमा लाग्न प्रेरित गर्ने राईको भविष्यको योजना चाहि के रहेछ त ? हामीले खोतल्ने प्रयास गर्यौं । हाम्रो जिज्ञाशामा उनले कृषिमै लगानी गरेर देश र समाजका लागि योगदान गर्ने योजना सुनाए । ‘आफ्नै ठाउँलाई माया गरौं, आफ्नै देशमा केही गरौं, विदेशको बसाई अस्थायी हो, जागिर छोडेको भोलिपल्ट हामीसँग केही हुँदैन, त्यसैले होस्टेमा हैसे गरेर अगाडि बढ्नुपर्छ, नेपाली नेपालीले खुट्टा तान्ने प्रवृति त्याग्नुपर्छ।’–राईले कुराकानीको बिट मार्दै भने ।