काठमाण्डौ । टाटा मोटर्सका व्यवसायिक गाडी बिक्रीवितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ । 

प्रा.लि.ले कोभिड १९ का कारण विशेष सावधानी अपनाउनुपर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो । यससँगै अब उपभोक्ताले टाटाका व्यवसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन् । 

प्रा.लि.ले डब्ल्यू डब्ल्यू डट शशिलामोटर्स डटकममार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद बिक्री गर्ने गरेको भए पनि ब्यवसायिक गाडीहरुमा यस्तो सुविधा थिएन ।

वेबसाइट शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिदबिक्री गर्न यो भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताऐ ।

शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए । अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ ।

वेबसाइटभित्रको भर्चुअल सोरुममार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुनसुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन् । यो सेवाअन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ ब्यवसायिक गाडीहरु अनलाइनमै बुकिङ गरी खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधा बाहेक पुराना गाडी समेत खरिद विक्री गर्न पाउनेछन् ।

आफूसँग भएका पुराना ब्यवसायिक गाडी विक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेबसाइटमा अपलोड गर्न सक्नेछन् ।

शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताबीच समन्वय गरिदिनेछ भने आफैंले पनि पुराना गाडी किन्नेछ । क्रेताले विक्रेतासंग भएको गाडी प्रत्यक्ष हेर्न चाहेको अवस्थामा समेत कम्पनीले त्यसको ब्यवस्था मिलाइदिनेछ । जसले गर्दा पुराना गाडी किन्न वा बेच्न चाहनेले अन्यत्र कतै भौंतारिनुपर्ने छैन ।