काठमाण्डौ । कोरोनाभाइरसको प्रभावलाई ध्यानमा राखेर भारतकै सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो मुख्यालय र क्षेत्रीय कार्यालयहरुमा काम गर्ने कर्मचारीलाई सोमबारदेखि घरमै बसेर काम गर्न निर्देशन दिएको छ। 

कोरोनाका कारण विश्वभर ठूलठूला कम्पनीले आफ्ना कर्मचारीलाई घरमै बसेर काम गराउन थालेको अवस्थामा टाटा मोटर्सले पनि यस्तो नीति अवलम्बन गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक गुएन्टेर बुटश्चेकले आफ्ना कर्मचारीहरुलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन्। 

विश्वव्यापी रुप लिएको कोरोनाको प्रभावलाई ध्यानमा राखेर कम्पनीले एउटा टिम पनि गठन गरेको छ। जुन टिमले आफ्नो कर्मचारीलाई कोरोनाको जोखिमबाट बचाउन उचित कदम चाल्नेछ। 

कम्पनीले हवाईजहाज, रेल र सार्वजनिक गाडीमा आफ्ना कर्मचारी अन्तर्राष्ट्रिय र घरेलु घुमघाममा पनि रोक लगाएको छ। त्यस्तै बायोमेट्रिक मेसिनबाट लिँदै आएको हाजिरी अब कार्ड स्वाप गरेर लिने व्यवस्था कम्पनीले गरेको छ। 

कम्पनीले २० जनाभन्दा बढी कर्मचारी रहने बैठक र तालिम पनि हाललाई स्थगित गरेको छ। गर्भवती महिला, श्वाप्रश्वास र मुटु रोगबाट पीडित कर्मचारीलाई घरबाटै काम गर्न कम्पनीले सल्लाह दिएको छ। 

कम्पनीले कार्यालयको चमेना गृह (क्यान्टिन) मा राखिएका टेबल–कुर्सीको दूरी पनि बढाएको छ। क्यान्टिनमा कर्मचारी उपस्थिति पातलो बनाउन खाजा खाने समय पनि फरक–फरक पारिएको छ। – एजेन्सी