काठमाण्डौ । नयाँ सर्ट भिडियो फिचर लन्च गरेपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्तिमा बढोत्तरी भएको छ।

टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइने भएपछि बुधबार फेसबुकले अमेरिकी ग्राहकका लागि सर्ट भिडियो फिचर भएको इन्स्ट्राग्राम रिल ल्याउने घोषणा गरेको थियो। यो घोषणापछि मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्ति वृद्धि भएर १०० बिलियन डलर पुगेको हो। 

बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको थियो। फेसबुकमा जुकरबर्गको १३ प्रतिशत स्वामित्व रहेको छ। 

सम्पत्तिमा वृद्धि भएपछि जुकरबर्ग अमेजनका संस्थापक र माइक्रोसफ्टका बिल गेट्स रहेको तथाकथित ‘सेन्टी बिलिनियर्स क्लब’ मा प्रवेश गरेका छन्। 

प्राविधिक जगतका बादशाहका रुपमा रहेका यी दिग्गज धनाढ्यहरु आफ्ना कम्पनीको आकार र पहुँचका साथै व्यक्तिगत उचाइ बढेकाले चर्चामा छन्। कोरोना महामारीका कारण लागू गरिएका प्रतिबन्ध र लकडाउनको सबैभन्दा धेरै फाइदा फेसबुक, अमेजन, एप्पल र गुगललाई भएको छ। 

लकडाउन र प्रतिबन्धका कारण अनलाइन सपिङ गर्ने, मनोरञ्जनका सामग्री हेर्ने र सामाजिक सञ्जाल चलाउनेको संख्यामा व्यापक वृद्धि भएसँगै यी कम्पनीको व्यापारमा उछाल आएको छ। यो वर्ष मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्तिमा २२ बिलियन डलरको बढोत्तरी भएको छ। 

त्यस्तै सबैभन्दा धनाढ्य व्यक्ति बेजोसको सम्पत्तिमा ७५ बिलियन डलरभन्दा धेरै वृद्धि भएको छ। – एजेन्सी