धनगढी - फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मार्नुभएको छ। माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जित्नुभएको हो। रावलले ५९५९ मत ल्याउनुभयो भने थापाले ५६१० मत । 

उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५५५३ मत ल्याउनुभयो। तीन दिनसम्म फोरम लोकतान्त्रिकका लौटन चौधरी अग्रस्थानमा रहेकाले टीकापुरमा फोरमले जित्ने अनुमान गरिएको थियो। फोरम उम्मेदवार लौटनले ५४८१ मत ल्याउनुभयो भने उपमेयरमा फोरमकै सुदेशनी चौधरीले ५११८ मत ल्याउनुभयो ।

०७० सालको निर्वाचनमा कैलाली–१ बाट लोकतान्त्रिक फोरमका जनक चौधरी विजयी हुनुभएको थियो। त्यतिबेला क्षेत्र नम्बर १ मा साविकको टीकापुर नगरपालिका, धनसिंहपुर, नारायणपुर, दुर्गौली, पथरैया र मुनुवा गाविस थिए। स्थानीय तहको पुनःसंरचनासँगै टीकापुरमा धनसिंहपुर र नारायणपुर गाविस गाभिए भने दुर्गौली, पथरैया र मुनुवामा जानकीनगर गाविस गाभेर जानकी गाउँपालिका बनाइयो।

फोरमले हार्नुमा टीकापुरमा नारायणपुर र धनसिंहपुर जोडिनु पनि रहेको पार्टी निकटस्थ बताउँछन्। फोरमबाट मेयरमा उम्मेदवार बन्नुभएका लौटन चौधरी थारू समुदायभित्र लोकप्रिय नेता मानिनुहुन्छ। ‘हामीले, गाउँ–गाउँसम्म गएर समय दिन सकेनौं, हारको मुख्य कारण त्यही हो’, लौटनले पराजयपछि भन्नुभयो।

टीकापुरको वडा नम्बर ३ मा फोरमबाट वडाध्यक्ष जितेका रामसेवक चौधरी पनि आफूहरूले गाउँगाउँमा गएर समय दिन नसकेकाले मेयरमा हार्नुपरेको बताउनुहुन्छ।

पत्रकार एकिन्द्र तिमिल्सिना भने टीकापुर नगरपालिकामा फोरमको संगठन बलियो नभएको तर्क गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘टीकापुर एमालेको बलियो संगठन भएको क्षेत्र हो, ०७० सालको संविधानसभा निर्वाचनमा फोरम जित्नुमा थारू ‘सेन्टिमेन्ट’ थियो। थारूले थारूलाई किन नजिताउने भन्ने लहर चल्यो र जनक चौधरीले जित्नुभयो।'

०५१ सालको मध्यावधि निर्वाचनमा टीकापुर क्षेत्रबाट एमालेका हिमाञ्चलराज भट्टराई, ०५४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै रत्नप्रसाद सञ्ज्यालले मेयर जित्नुभएको थियो। ०५६ सालमा त्यो क्षेत्र कांग्रेसले जितेको थियो भने ०६४ सालमा माओवादीकी रुपासोसी चौधरीले जित्नुभएको थियो।

टीकापुरको चुनावमा यसपालि सद्भावको नमुना पनि देखियो। लौटन चौधरी आफू पराजित भए पनि विजयी मेयर र उपमेयरलाई फूलमाला लगाएर बधाई दिनुभएको छ। ‘मैले दुवैजनालाई फूलमाला लगाइदिएर बधाई दिएँ’, लौटनले भन्नुभयो। यो खबर आजको अन्नपूर्णले छापेको छ ।