काठमाण्डौ । टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । 

उच्च प्रहरी अधिकृतसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत कैलालीले जनाएको छ । 

रेशमसहित सो घटनामा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौरा, राजेश चौधरी, वीरबहानुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनेर चिनिएका सिताराम चौधरी, श्रवण चौधरी, गंगाराम डगौरा चौधरीलाई जन्मकैदको सजाय सुनाइएको हो । 

दोषी ठहर श्रवण चौधरी नाबालक भएकाले उनलाई भने १० वर्ष मात्र जेल सजाय हुने छ।

घटनामा संलग्न लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नी राम चौधरी र रामप्रसाद चौधरीलाई ३ वर्षको कैद सजाय सुनाइएको छ । 

बाँकी ४ जनालाई भने अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको छ । जसमा नुरुल अलि, तहाँवर अलि जागा, विसराम चौधरी र रामनरेश चौधरी रहेका छन् । उनीहरु पुर्पक्षका लागि थुनामा थिए । 

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । 

घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिई भारी मतले विजयी भएका थिए । राजपाको दवाबमा उनलाई केही महिनाअघि संसदमा सांसद पदको सपथ समेत खुवाइएको थियो ।