काठमाण्डौ । सवारी ऐनभन्दा बाहिर गएर व्यवसाय संचालन गरेको भन्दै सरकारले टुटल र पठाओको सेवा बन्द गर्ने तयारी गरेको छ । 

यातायात व्यवस्था विभागमा हालै महानिर्देशक भएर गएका कुमारप्रसाद दाहालले ऐन भन्दा बाहिर गएर कसैले पनि काम गर्न नपाउने भन्दै टुटल र पठाओले काम गर्न नपाउने प्रष्ट पारेका हुन् । 

टुटल र पठाओले एपमार्फत् बाइक सेयरिङ सेवा दिंदै आएका छन् । तीन महिनाअघि पनि टाफिक प्रहरीले गैरकानूनी रुपमा यात्रु ओसारेको भन्दै यी दुई सवारी एपमा जोडिएका व्यक्तिगत चालकहरुलाई पक्राउसँगे कारबाही गरेको थियो । 

तर प्रहरीको यो कदमको सर्वत्र आलोचना भएपछि र प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्टार्टअप कम्पनीलाई काम गर्न दिनु भनेपछि पुनः सेवा सुचारु भएको थियो । 

योसँगै टुटलले लाखौं कर समेत छलेको प्रकरण समेत बाहिरिएको थियो । यी दुवै सेवाप्रदायक करको दायरामा समेटिए पनि विद्यमान कानूनी दायरामा भने आउन सकेका छैनन् । 

सवारी ऐनमा निजी सवारी साधनलाई सार्वजनिक यातायातको प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । सवारी ऐनको दफा ८ को उपदफा २ मा निजी सवारीसाधनलाई सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न नपाइने र दफा १२ मा कुनै प्रयोजनका लागि दर्ता भएका सवारीसाधन अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने उल्लेख छ । 

यही बुँदालाई टेकेर टुटल र पठाओको सेवा कानूनी मापदण्डमा नआएसम्मका लागि बन्द गरिने दाहाले प्रष्ट पारेका छन् । 

दाहालले टुटल र पठाओको चालकका लागि अलग्गै पोशाक हुनुपर्ने, छुट्टै नम्वरप्लेट, इन्सुरेन्स लगायतको व्यवस्था समेत गरिनुपर्ने र यो व्यवस्था नभएसम्म कानूनले बन्देज लगाएको काम उनीहरुले गर्न नपाउने बिजशालालाई बताए ।