काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत तोकेको पूँजी पुर्याउन आक्रामक रणनीतिका साथ अगाडि बढेको छ । 

यो बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न आवश्यक २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनका लागि साना संस्थालाई अक्वायर गर्ने, हकप्रद तथा बोनस समेत जारी गर्ने गरी आक्रामक रणनीति अख्तियार गरेको हो । 

यही रणनीतिअनुसार टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति(अक्वायर) गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यी दुई संस्थालाई प्राप्तिका सबै प्रक्रिया पूरा भएपछि असोज ५ गते अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्रबैंकमा आवेदन पेश भइसकेको छ । त्यहाँबाट स्वीकृत भएलगत्तै टुरिजम डेभलपमेन्ट बैंकले संयुक्त कारोबार थाल्नेछ । 

दुई साना विकास बैंकलाई अक्वायर गरेपछि टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापूँजी ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँ पुगेको छ । 

यो बैंकले सफल अक्वायरपछि कायम हुन आउने पूँजीको सतप्रतिशत(१ बराबर १ को दर)ले हकप्रद समेत निश्कासन गर्ने तयारी थालेको छ । सतप्रतिशत हकप्रद निश्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडलाई बिक्री प्रबन्धकमा कात्तिक ३ गते नियुक्त गरिएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हकप्रद निश्कासन तथा व्यवस्थापनको बिषयमा सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । 

सतप्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी १ अर्ब ८४ करोडको हाराहारीमा पुग्नेछ । बाँकी अपुग पूँजीका लागि बैंकले आगामी दिनमा निकै राम्रो बोनस सेयर जारी गर्ने र ०७४ असार मसान्तसम्ममा कुनै बित्तीय संस्थासँग मर्ज वा अक्वायर गर्ने रणनीतिलाई समेत कायमै राखिएको बैंकका एक अधिकारीले जानकारी दिए । 

यो बैंकले हाल देशभरका आफ्ना १५ वटा शाखा तथा १२ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ । बैंकले निकट भविष्यमा दुई साना बैंकको प्राप्तिबाट थपिने ७ वटा शाखाहरु सँगै देशका विभिन्न स्थानहरुमा थप नयां ७ वटा शाखाहरु थप्ने र चालु आर्थिक बर्षको अन्त्यसम्ममा कुल २९ वटा शाखाहरु मार्फत आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ ।