काठमाण्डौ । हालै मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेको टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ। 
अघिल्लो वर्षको सोही अवधिमा ७ करोड १९ लाख खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष १०३ प्रतिशतले बढाएर १४ करोड ६३ लाखको उचाईमा पुर्याएको हो । 

बैंकले रिजर्बलाई समेत १९२ प्रतिशतले वृद्धि गर्दै ४८ करोड ६९ लाखको उचाईमा पुर्याएको छ । 

यो बैंकले दोश्रो त्रैमासको अन्तसम्ममा १० अर्ब ७४ करोड निक्षेप संकलन गरी ९ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिको भन्दा निक्षेपतर्फ ५०.५५ प्रतिशत र कर्जातर्फ ६२ प्रतिशतको प्रगति हो । 

यो विकास बैंकले निस्क्रिय कर्जाको दरलाई समेत घटाएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २.०२ प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्षको सोही अवधिमा घटाएर १.३० प्रतिशतमा झारेको छ । 

बैंकको प्रति सेयर आम्दानी ३१ रुपैयाँ ८३ पैसा, प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९४ पैसा कायम भएको छ । यो बैंकको चुक्तापूँजी ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ ।