काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकलाई सतप्रतिशत(१ बराबर १)को दरले हकप्रद निश्कासनको अनुमति दिएको छ । 

राष्ट्रिय स्तरको यो विकास बैंकले अब १ सय रुपैयाँ अंकित मूल्यको कुल ९७ लाख मूल्यको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद निश्कासन गर्नेछ । 
यो बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

२०७३ भदौ १५ गते सम्पन्न टुरिजम डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले आफ्ना सेयरधनीका लागि सतप्रतिशत हकप्रद निश्कासनका प्रस्ताव पारित गरेको थियो । यो बैंकले मातृभूमि विकास बैंक र कालिञ्चोक विकास बैंकलाई अक्वायर गरेपछि कायम हुने चुक्तापूँजीको सतप्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको थियो । हाल बैंकको चुक्तापूँजी ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि कुल चुक्तापूँजी १ अर्ब ८३ करोडको उचाईमा पुुग्नेछ । 

टुरिजम डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १४ करोड ६३ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकले मेगा बैंकसँग १०० बराबर ९५ को सेयर स्वाप रेसियो कायम गरी मर्जरको सम्झौता गरेको छ । यो बीचमा मेगा बैंकले समेत आफ्ना सेयरधनीलाई ६५ प्रतिशत हकप्रद दिंदैछ । यसरी टुरिजम डेभलपमेन्ट बैंक र मेगा बैंकले समेत हकप्रद जारी गरेपछि पूरा हुने मर्जर प्रक्रियाबाट बन्ने मेगा बैंकको कुल चुक्तापूँजी साढे ९ अर्ब हाराहारी हुनेछ ।