काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकले बिक्री नभएको ७ लाख ४ हजार कित्ता सेयर बोलकबोलबाट बिक्री खुलाएको छ । 

यो बैंकले साधारणतर्फ २ लाख ६६ हजार ५ सय ३७.२० कित्ता र संस्थागतर्फ ४ लाख ३८ हजार २००.८० कित्ता सेयरको लिलामीमा बुधबारदेखि आवेदन खुलाएको हो । 

यो बैंकले १ बराबर १ को अनुपातमा गत चैत १३ गते हकप्रद निश्कासन गरेको थियो । निश्कासित हकप्रदमध्ये बिक्री नभएको सेयर लिलामीबाट बिक्रीका लागि आवेदन खुलाइएको हो । 

लिलामी प्रक्रियामा सहभागी हुन चाहनेले प्रति कित्ताका लागि न्यूनतम १ सय रुपैयाँको बोल लगाउनुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

बुधबारदेखि खुलेको लिलामीको आवेदन असार १५ गतेसम्म रहने बताइएको छ । असार १७ गने बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट लिमीटेडको लाजिम्पाटस्थित मुख्य कार्यालयमा लिलामीको नतिजा प्रकाशन हुनेछ । लिलामीका लागि बिक्री प्रबन्धकको कार्यालयमा गएर आवेदन पेश गर्न सकिनेछ । लिलामीमा राखिएको संस्थागत सेयरमा बैंकको हालका संस्थापक सेयरधनीले मात्र प्रस्ताव पेश गर्न सक्ने बताइएको छ । 

यो विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २० करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । सबै हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी २ अर्ब २ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले मेगा बैंकसँग मर्जरको सम्झौता गरेको छ । यसको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ४ सय २७ रुपैयाँ रहेको छ । केही समयदेखि यो बैंकको सेयर कारोबार भएको छैन ।