काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले आगामी मंसिर ४ गते सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ । करिब साढे ९ महिनादेखि अड्किएको मेगा बैंकसँगको मर्जरलाई टुंगोमा पुर्याउने प्रस्तावसहित साधारणसभा आह्वान भएकोले लामो समयदेखि अन्यौलमा परेका लगानीकर्ताले चाँडै राहात पाउने संभावना बढेको छ । 

टुरिजम र मेगा बैंकबीच २०७३ माघ ६ गते मर्जरको सम्झौता भएको थियो । बैंकको सेयर कारोबार माघ ७ गतेदेखि नै रोक्का छ ।

टुरिजमले २०७३ माघ ६ गते  मेगा बैंकसँग मर्जरको सम्झौता गरेपछि माघ ७ देखि नै दुवै बैंकको सेयर कारोबार रोक्का छ ।सेयर कारोबार नहुँदा लगानीकर्ताको लगानी बन्धक बनेको छ भने दुवै बैंकका अधिकारीहरु गैरजिम्मेवार ढंगले यो वा त्यो बाहानामा सेयर कारोबार खुलाउने पक्षमा छैनन् । मेगा बैंकले त अझ गैरजिम्मेवार ढंगले हकप्रद निश्कासनको नाममा म्याद थप्दै महिनौदेखि लगानीकर्ताको लगानीलाई बन्धकमा राखेर दादागिरी प्रदर्शन गरिरहेको छ । नियामक निकायलाई समेत प्रभावमा पारेर मेगाले जथाभावी गरिरहेको समयमा टुरिजमले मर्जरलाई टुंगोमा पुर्याउने लगायतको प्रस्तावसहित एजीएम डाक्दा लगानीकर्तामा झिनो आशा पलाएको छ । 

साधारणसभामा मेगा बैंकसँग टुरिजमको १००ः९५ सेयर स्वाप रेसियोलाई पारित गरी मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने र मर्जर सम्बन्धी हालसम्म भएका सम्झौता तथा कामलाई अनुमोदन गर्ने प्रस्ताव विशेष रुपमा प्रस्तुत हुनेछ । यी दुुई बैंकको मर्जरलाई नेपाल राष्ट्रबैंकले २०७४ जेठ १० गते नै सैद्धान्तिक सहमति दिइसकेको छ । 

बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम टुरिजम बैंकको प्रस्तावित बोनस सेयरको रकम १५ करोड ५८ लाख १५ हजार, साबिक मातृभूमि विकास बैंक लिमीटेडको प्रस्तावित बोनस सेयरको रकम ७४ लाख ६२ हजार ५ सय र साबिक कालिञ्चोक डेभलपमेन्ट बैंक लिमीटेडको प्रस्तावित बोनस सेयरको रकम ७८ लाख गरी जम्मा प्रस्तावित बोनस सेयर रकम १७ करोड १० लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । 

बुक क्लोज कहिले ?
टुरिजम र मेगा बैंकबीच २०७३ माघ ६ गते मर्जरको सम्झौता भएको थियो । बैंकको सेयर कारोबार माघ ७ गतेदेखि नै रोक्का छ । बैंकले जनाए अनुसार ०७३ माघ ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार भई कुनै कारणले दाखिल खारेज हुन छुट भएका सेयर भए यो सूचना प्रकाशित भएको ७ दिनभित्र बेंकको सेयर रजिष्टार सनराइज क्यापिटल लिमीटेडमा बुुझाउनुपर्नेछ । सो मितिसम्म बैंकको सेयर रजिष्टरमा प्राप्त हुने सेयरधनीहरुलाई मात्र साधारणसभामा उपस्थित गराइने बैंकले जनाएको छ । सेयर कारोबार लामो समयदेखि रोक्का भए पनि बैंकले साधारणसभामा भाग लिने प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेजको काम कात्तिक १९ गते एक दिन बन्द रहने जनाएको छ ।