काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेड(टेलिकम)का लगानीकर्ताले  आर्थिक वर्ष २०७१/७२ को नाफाबाट ५० प्रतिशतका दरले नगद लाभांश पाउने भएका छन् । 

टेलिकमको सोमबार राजधानीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न आठौं वार्षिक साधारणसभाले यसअघि संचालक समितिले गरेको ५० प्रतिशत दरको नगद लाभांशको प्रस्तावलाई पारित गरेको हो । पारित लाभांश शेयरधनीहरुले बैशाख २१ गते(मंगलबार)देखि नै पाउने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन । 

साधारणसभाले शेयरधनीहरुलाई आ.ब. २०७१/७२ को आयकर पछिको रु. १४ अर्ब ५५ करोड ६३ लाख मुनाफा रकममध्येबाट चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गरेको हो । 

साधारण सभाले आर्थिक वर्ष २०७१/७२ को लागि अध्यक्ष एवम् सञ्चालक समितिको प्रतिवेदन र  लेखापरीक्षकको प्रतिवेदनलाई समेत पारित गरेको छ । 

यसैबीच, साधारणसभाले आर्थिक वर्ष २०७२ ७३ का लागि कम्पनीको लेखापरीक्षकको रुपमा चार्टर्ड एकाउण्टेन्ट नरेन्द्र भट्टराईलाई नियुक्त गरेको छ । 

साधारण सभाले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी शर्तहरु नेपाल सरकार, मन्त्रीपरिषदबाट स्वीकृत निर्देशिकामा उल्लेख गरे बमोजिम हुने व्यवस्थालाई समेत पारित गरेको छ । 

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले साधारण सभामा पेश गरेको कम्पनीको आठौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले आर्थिक वर्ष २०७१।७२ देखि कम्पनीले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड लागू गरेको र नेपालको परिप्रेक्ष्यमा सर्वप्रथम कम्पनीका वित्तीय विवरणहरूलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको दाबी गरे । 

उनले ग्रामीण क्षेत्रमा अप्टिकल फाइवर सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरणलाई प्राथमिकता दिने लक्ष्य अनुरुप थ्रीजी सेवालाई विस्तार गरिएको र नेटवर्क क्षमतालाई विस्तार गरी IPCDMA मा आधारित EVDO/ (Voice and Data) उपलब्ध गराउने तथा Wimax सेवा मार्फत आकर्षक डाटा सेवा उपलब्ध गराउने प्रयासलाई जारी राखिने जानकारी दिए । नियामक निकायबाट स्वीकृति पाउनासाथ फोरजी सेवा उपलब्ध गराउने गरी कम्पनीले सम्पूर्ण रुपमा तयारी गरेको बताउँदै कम्पनीको संगठनात्मक स्वरुपमा परिवर्तन गरी चुस्तदुरुस्त बनाउन कम्पनीको पुनःसंरचनाको कार्य अगाडि बढाइएको समेत उनले बताए । 
 

उनले मोबाइल सेवाका साथै डाटा सेवाको विस्तारका लागि वायरलाइन ब्रोडब्याण्ड तथा वायरलेस ब्रोडब्याण्ड सेवालाई देशव्यापी रुपमा प्रर्वद्धन गरिने तथा कम्पनीको दीर्घकालीन बजार विस्तारका लागि रणनीतिक व्यापार तथा बजार योजना तयार गरिएको र यस अन्तर्गत आगामी दिनमा कम्पनीको मार्केट शेयर अधिकतम रुपमा बृद्धि गर्दै जाने लक्ष्य राखेको जानकारी दिए ।